प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

विजय गच्छदार : अभागी नेता, भाग्यमानी भविष्य

देव लिम्बू

देव लिम्बू

अहिले एउटा नयाँ र वैकल्पिक राजनीतिक शक्तिले ठूलो आकार लिइरहेको छ । धेरै हल्लाखल्ला नगरी त्यो शक्तिले आकार विस्तार गरिरहेको छ । त्यो शक्तिले हिमाल पहाड तराई जोड्ने विचार फैलाइरहेको छ । आफ्नो शक्ति र पहुँचलाई देशव्यापी बनाइरहेको छ ।
त्यो शक्ति कुन हो त ?
अहिले देशलाई जोड्नेभन्दा तोड्ने शक्तिहरु सक्रिय छन् । जनतालाई जुटाउनेभन्दा फुटाउने शक्तिहरु हावी भएका छन् । देशलाई स्थिरता बनाउनेभन्दा अस्थिरतामा लैजान चाहने शक्तिहरुको आवाज चर्काे भएको छ । यस्तो स्थितिमा देशलाई जोड्ने वास्तविक शक्ति अगाडि आइरहेको छ । त्यो शक्ति कुन हो भन्ने सटिक पहिचान गर्न जरुरी भएको छ ।
यसका लागि अलिकति अतितलाई हेर्नुपर्ने हुन्छ :
२०६३ सालमा मधेस आन्दोलन सुरु भयो । मधेस आन्दोलनलाई अनियन्त्रित बनाउने प्रयास भयो । त्यस्तो प्रयास भइरहेको बेला एकजना शशक्त नेताले मधेस आन्दोलनमा हस्तक्षेपकारी भूमिका निर्वाह गरे । उनको नाम थियो– विजय गच्छदार । अतिवादी शक्तिहरुको हातमा गइरहेको मधेस आन्दोलनमा लोकतान्त्रिक व्यक्तित्वको उपस्थिति समयको माग थियो । गच्छदारले सो माग पूरा गरे । अतिवादको छायाँबाट मधेस आन्दोलनलाई मुक्त गरेर उपलब्धीमूलक आन्दोलन गर्न गच्छदारले योगदान गरे । गच्छदारको उपस्थिति थिएन भने मधेस आन्दोलन चकनाचुर हुनसक्थ्यो र अतिवादीहरुको नयाँ युग सुरु हुन सक्थ्यो ।

मधेस आन्दोलनकै बलमा तत्कालीन मधेसी जनअधिकार फोरमले आफूलाई देशको चौथो र मधेसको पहिलो ठूलो शक्तिका रुपमा उभ्यायो । फोरमलाई त्यति शशक्त बनाउने काम गरेका थिए गच्छदारले । यो कुराको पुष्टि दोस्रो संविधानसभाको चुनावले गर्यो ।

पहिलो चुनावपछि फोरम विभाजित भयो । उपेन्द्र यादवको नेतृत्वमा एउटा र गच्छदारको नेतृत्वमा अर्काे पार्टी बन्यो । दोस्रो संविधानसभा चुनावमा गच्छदार नेतृत्वको पार्टी मधेसमा सबैभन्दा ठूलो पार्टी बन्यो । मातृपार्टीभन्दा विभाजित भएर गएको पार्टी ठूलो रुपमा स्थापित भएको नेपालको यो पहिलो घटना थियो ।

त्यसपछि कुरा आउँछ १६ बुँदे सम्झौताको । संविधान निर्माण धरापमा परेको बेला गच्छदार अगाडि सरे । उनले तीनतिर मुख फर्काएर बसेका कांग्रेस, एमाले र माओवादीलाई एक ठाउँ ल्याए । १६ बुँदे सम्झौता गराए जो संविधान जारी गर्ने आधारशिला बन्यो । संविधानले मधेसी, थारु, जनजाति लगायतको अधिकार सुनिश्चित गर्यो । आन्दोलनको मैदानमा मात्र जनतालाई होमेर हुँदैन, उपलब्धी हासिल गर्नुपर्छ भन्ने गच्छदारको वैचारिक लाइनमा टेकेर संविधान जारी भयो ।

अहिलेको संविधान संशोधन प्रकरणलाई हेरौं । गच्छदार संविधान संशोधनको पक्षमा छन्, संविधान भनेको निरन्तर संशोधन हुनसक्ने दस्तावेज हो भन्ने उनको विचार आइसकेको छ । तर, संविधान संशोधनका लागि जनताले मर्नुपर्छ भन्ने विचारको उनी विरोधी हुन् । संविधान संशोधनको थलो संसद हो, सडक होइन भन्ने विचार गच्छदारले दिनुलाई नेपालको अहिलेको राजनीतिक परिदृष्यमा सामान्य ठानिनु हुन्न । संविधानको उपलब्धीको उपयोग गर्दै संसदभित्रबाट संविधान संशोधन हुनुपर्छ, संशोधनको नाममा जनतालाई सताउनु हुँदैन भन्ने उनको धारणाबाट सबैले पाठ सिक्न जरुरी छ ।
अभागी नेता :
संविधान जारी भएपछि नेपालमा नयाँ युग सुरु भएको छ । संविधान जारी हुनासाथ भारतले नाकावन्दी लगायो । नाकावन्दीको विरोध गर्दै सहमतिको राजनीतिक बातावरण बनाउन, अन्तराष्ट्रिय रुपमा छलफल अगाडि बढाउन गच्छदारले नै भूमिका निर्वाह गरे । तर, नेपाली राजनीतिमा कहिले जस नपाउने अभागी नेता हुन् विजय गच्छदार । उनले काम ठूलाठूला गरे, राष्ट्रिय राजनीतिलाई निर्णायक मोड दिए । ठूलाठूला उपलब्धीको ‘लन्चिङ प्याड’ बने तर त्यस अनुरुप जस पाएनन् ।

नाकावन्दीको बेला सबैभन्दा तार्किक र व्यवहारिक अडान लिने गच्छदार नै थिए तर त्यस अनुरुप जस पाएनन् । भौतिक योजना मन्त्रीका रुपमा उनले उत्तरी नाका खोल्न गरेको योगदानको कुनै चर्चा नै भएन । उनी बिना संविधान जारी हुन सक्दैनथ्यो, किनभने मुख्य दलहरुको साथमा मधेसका शक्ति थिएनन् । एक्लो वृहस्पती बनेर गच्छदार उभिएका थिए । तैपनि जस पाएनन् ।

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताहरु भन्ने गर्छन्– ‘हाम्रो पार्टी अभागी शक्ति हो, किनभने हामीले काम अनुसार जस पाएनौं ।’ वास्तवमा यो सत्य हो तर अब सत्य बदलिँदै छ ।

हुनत गच्छदारलाई धेरै पटक मन्त्री भएको भाग्यमानी भन्नेहरु पनि छन् । धेरै पटक मन्त्री बनेकोले आलोचना गर्नेहरु पनि छन् । के धेरै पटक जिम्मेवारी पाउनु अपराध हो ? कांग्रेस एमालेका एकथरी नेताहरु जहिलेतहिले सरकारमा छन् । कांग्रेस एमाले नेताहरु सरकार बाहिर रहँदा पनि सरकारमा भए सरह सत्ता र सुविधा उपभोग गरिरहेका छन् । गच्छदार एकजनाले चाहिँ बारम्बार मन्त्री बन्न हुँदैन भनेर कहिँ लेखिएको छैन । मन्त्री बनेर गच्छदारले गरेको विकास निर्माणमा योगदान र राजनीतिक समस्या समाधानका लागि गरेको योगदानको चाहिँ किन चर्चा हुँदैन ? के गच्छदारले चाहिँ राजनीतिबाट सन्याश लिनुपर्ने हो ? हो भने कांग्रेस एमाले सहित मधेसवादी भनिने दलहरुका दर्जनौं नेताहरुले एकसाथ सन्याश लिए हुन्छ ।

नेपाली राजनीतिमा जस लिने खास तरिका हुँदो रहेछ । जस्तो कि– काठमाडौंको सडक विस्तारको जस डा. बाबुराम भट्टराईले लिने गरेका छन् । सत्य के हो भने बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारको सबै कार्ययोजना गच्छदारले बनाएका थिए, विस्तारको काम गच्छदारले गरेका थिए, कार्यान्वयन गच्छदारले गरेका थिए । तर, जस नखोज्ने उनको बानी छ, जस लिन जान्दैनन् पनि । थोरै काम गर्ने धेरै हल्ला गर्ने शैली गच्छदारले अपनाएनन् । बरु, काम गर्ने अनि हल्ला नगरी बस्ने शैली अपनाए ।

नयाँ स्वरुपमा फोरम लोकतान्त्रिक

नेपालमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको चर्चा हुन थालेको दशकौं भयो । कस्तो शक्तिलाई नयाँ र वैकल्पिक भनिन्छ भन्ने अष्पस्ट छ । आआफ्नो परिभाषा छ । तर, अहिले नेपाललाई कस्तो नेता र राजनीतिक शक्ति चाहिएको भन्ने चाहिँ स्पष्ट छ । यसलाई बूँदागत रुपमा यसरी भन्न सकिन्छ–

· जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने

· कुनै एक जातिको मात्र कुरा नगरेर सारा नेपालीको भलाईको कुरा गर्ने

· जातीय विग्रह होइन, जातीय एकता भन्ने

· हिमाल पहाड तराईका जनतालाई जोड्ने

· संविधान कार्यान्वयन गर्दै जनअधिकार सुनिश्चित गर्ने

· परम्परागत ठूला राजनीतिक शक्तिहरुलाई चुनौती पनि दिने र उनीहरुलाई एक ठाउँमा पनि ल्याउने

· सन्तुलित वैदेशिक सम्बन्ध स्थापित गर्दै नेपालको राष्ट्रियतालाई प्रवद्र्धन गर्ने

यी गुणहरु भएको शक्ति नेपालको अहिलेको र भविष्यको पनि आवश्यकता हो । यी गुण गच्छदारले देखाएका छन् र फोरम लोकतान्त्रिकले देखाएको छ । फोरम लोकतान्त्रिकले यसका लागि पार्टीको नाम परिवर्तन गरेको छ । पार्टीलाई हिमाल पहाड सबैतिर विस्तार गरेको छ । गच्छदारले कहिले पनि कुनै जातीय समुदायलाई गाली गर्ने गरेका छैनन् । जातीय गाली दिनु खास किसिमका नेताहरुको विशेषता नै भएको छ । गच्छदार तथा फोरम लोकतान्त्रिकले कहिले पनि अतिवादलाई स्वीकार गरेको छैन र गर्दैन पनि । बरु समभावको कुरा गर्छ ।

अर्काे पक्ष: 

यति ब्याख्या गरिनुको खास अर्थ छ । नयाँ शक्तिका रुपमा देशलाई कस्तो शक्ति चाहिएको हो भन्ने तथ्यको व्याख्या गर्दा अर्काे महत्वपूर्ण पक्षलाई बिर्सन मिल्दैन ।

अब देश जोड्ने शक्तिको नेतृत्व कुन जातीय समुदायको हुन्छ भन्नेले पनि खास अर्थ राख्छ । पहाडी र मधेसी समुदाय, जनजाति र गैरजनजाति समुदाय, दलित र गैरदलित समुदाय, थारु र गैर थारु समुदायका रुपमा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको छ । यो विभाजनलाई रोक्न देशलाई तराईबाट यस्तो समुदायको नेतृत्व चाहिएको छ जसले जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने भावना बोलोस् । त्यस्तो समुदाय थारु हो । थारु समुदाय नेपालको मध्यस्थ समुदाय हो । यो समुदाय पहाडी पनि होइन, मधेसी पनि होइन । पहाडि र मधेसी समुदायबी सेतुको रुपमा रहेको छ थारु समुदाय । तसर्थ, देशमा आगामी दिनमा थारु समुदायका नेता कार्यकारी प्रमुखका रुपमा स्थापित हुनु नेपालको राष्ट्रिय हित तथा एकताका लागि अपरिहार्य आवश्यकता बनेको छ ।

थारु समुदायका धेरै नेता छन् तर उनीहरुले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरेका छैनन् । विजय गच्छदार मात्र हुन् जसले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरिरहेका छन् । राजनीतिक अनुभव, उमेर, परिपक्वता र भिजनका दृष्टिले थारु समुदायका नेताहरुमध्ये सबैभन्दा माथि छन् गच्छदार । त्यति मात्र होइन, देशका राष्ट्रिय नेताहरुसँग दाजिन सक्ने, दरिन सक्ने र जुध्न सक्ने गच्छदार नै हुन् । भावी दिनमा पहाडि समुदाय बाहिरका नेता कसैले कार्यकारी प्रमुख बन्ने ल्याकत राख्छ भने विजय गच्छदार नै हुन् । र, मुलुक त्यस्तो सम्भावनाको संघारमा आइपुगेको छ ।

भविष्यको चाबी :

विजय गच्छदार तथा फोरम लोकतान्त्रिकले देश जोड्ने विचार ल्याइरहेको छ । मधेसमा जन्मिएर पहाड हिमालमा फैलिने तथा त्यहाँका जनताको विश्वाश जित्ने नेपालको पहिलो पार्टी फोरम लोकतान्त्रिक नै बन्न गइरहेको छ । यसको अर्थ के हो भने वैकल्पिक र नयाँ राजनीतिक शक्तिका रुपमा फोरम लोकतान्त्रिकले जरा हालेको छ । यो पक्षलाई सबैले गम्भीरतासाथ लिन जरुरी भइसकेको छ ।

अर्थात्, अभागी नेता विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको भाग्योदय हुन थालेको छ । फोरम लोकतान्त्रिकको भाग्योदयले देशकै भाग्योदय हुने विश्वाश गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close