प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

कांग्रेसमा सात दशक बिताएका महेश कोर्मोचा भन्छन्ः पार्टीका लागि बन्दुक चलाएँ, गाडी चलाएँ र रक्सीको व्यापार समेत चलाएँ

महेश कोर्मोचा

महेश कोर्मोचा

‘कांग्रेसले राणाविरुद्ध छेडेको सशस्त्र क्रान्तिको खबर ओखलढुंगाको तिनतले पहाड नाघेर खिजी पुगेको थियो,’ जोरपाटीस्थित आफ्नै निवासमा महेश कोर्मोचाले सात साले क्रान्तिको कथा सुनाउन सुरु गरे। घँघरुका लट्ठी टेकेर गस्ती गर्ने नीला पोसाक लगाएका प्रहरीको आँखा छलेर गाउँमा ‘क्रान्ति’ को गाइँगुइँ चल्थ्यो। क्रान्ति दबाउन गाउँगाउँका गल्लीगौँडामा राणाका सिपाही तैनाथ थिए। मान्छेका मुखमा निरंकुशताको लगाम कसिएको युग थियो त्यो।

त्यतिबेला महेश कोर्मोचा पाँच–छ वर्षका बालक थिए। उनको जिम्मा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने थियो। ‘नेपाली कागजमा तीतेपातीको झोलले लेखेका चिट्ठी हुन्थे त्यसबेला,’ उनले भने। उनी तिनै चिट्ठी बोकेर सुराकी र प्रहरीका आँखा छल्दै तिनका प्रापक खोज्दै ओखलढुंगा र रामेछापका गाउँगाउँ चहार्थे। चिट्ठीमा राणाशासनको अवसान गराइछाड्ने कसम कुँदिएका हुन्थे, संघर्षका योजना र भूमिगत कार्यक्रमका फेहरिस्त हुन्थे।

महेशका हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता थिए। उनले सन् १९३८ देखि ४ वर्ष भारत बस्दा भारतीय कांग्रेसका तत्कालीन अध्यक्ष गोपालकृष्ण गोखले, स्वतन्त्रता सेनानीद्वय महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेट गरेका थिए। उनीहरुकै प्रेरणाले महेशका हजुरबुवा ‘भारत छोडो’ आन्दोलनमा सरिक भएका थिए। त्यसपछि उनले नेपाली कांग्रेसको स्थापनामा योगदान दिए र राणाशासनविरुद्धको आन्दोलनमा सामेल हुने प्रण गरेर नेपाल फर्किए।

गाउँभरका मान्छे बटुलेर महेशका हजुरबुवा रातरातभर संगठन बिस्तार गर्थे। कार्यकर्ता उत्पादन गरेर प्रशिक्षण दिन्थे। र बालक महेशलाई चिट्ठी बोकाएर गाउँगाउँ पठाउँथे। उनका हजुरबुवा रौसे थिए। २००७ साल कात्तिक ७ गते महेशका हजुरबुवाले सात नाल बन्दुक पड्काएर आफ्नै घरबाट क्रान्तिको उद्घोष गरे। ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु भयो भन्दै।’ उनको घरमा सातवटा राँगा, सातवटा बोका, सातवटा भेडा, सातवटा भाले, सातवटा परेवा, हाँसका सातवटा अण्डा र सातवटा कुखुराको अण्डा बली दिइएको थियो।

एकदिन गाउँमा फेरि गाँइगुँइ चल्यो, क्रान्ति सफल भयो भनेर। गाँइगुँइका भरमा दुनियाँ बुझ्नुपर्ने समय थियो त्यो। त्यसपछि महेशका बाँकी दिन लेखपढ मै बिते। एवंरीतले २०१५ सालको संसदीय चुनाव लाग्यो गाउँमा। त्ससबेलाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट ओखलढुंगामा पेशलकुमार पोखरेल उमेदवार थिए। फेरि पोखरेललाई जिताउन खटिए महेश गीत गाउँदै। चुनावमा पोखरेलले बाजी मारे।

तर दैनिकी साविकझैँ रह्यो महेशको— सामान्य लेखपढ र घरव्यवहार। २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध कु गरेपछि गाउँ आतंकित भयो। ‘राजाले तिमेरु सबैलाई जेल हाल्छन् अब, बिपीलाई त थुनेका छन् रे’—गाउँलेले सम्झाउँथे उनलाई। आफन्तको सल्लाहमा प्रशासनसँग बच्नका लागि गाउँका पन्ध्र जना युवालाई लिएर उनी धरान झरे, ब्रिटिस आर्मीमा भर्ती हुन। उनीसहितका १५ जनामध्ये १४ जना भर्ती भए। ब्रिटिस आर्मीमा उनले ८ वर्ष सेवा गरे। त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपर्‍यो। उनी गाउँ फर्किए।

गाउँ फर्किएपछि महेशको मरिसकेको राजनीतिक नशा बौरियो। महेश भूमिगत रुपमा संगठन बिस्तार गर्न लागे। २०२५ सालमा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गर्‍यो। ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भयो। उनले बनारस पुगेर फौजी तालिम लिए। पूर्वाञ्चलमा पार्टी गतिविधि गर्ने जिम्मेवारी तोकेर नेपाली कांग्रेसले उनलाई नेपाल पठायो। महेशले धरानमा बसेर पार्टी संगठन बिस्तार गरे। प्रशासनको कडा निगरानीलाई छल्न उनले धरानबाट काँकडभित्ता र जनकपुर रुटमा गाडी चलाए। प्रशासनलाई गाडीमा नेपाली कांग्रेसका कार्यकर्ता चढ्छन् भन्ने थाहा थियो तर ड्राइभर नै कांग्रेस कार्यकर्ता हुनसक्छ भन्ने शंका थिएन। गाडी चलाउँदा उनी बीचबीचका ‘ट्रान्जिट’ मा ओर्लन्थे र कांग्रेसका कार्यकर्तालाई भेट्थे। गाडीमा बन्दुक र पार्टीका प्रचार सामग्री बोक्थे। यसरी उनले आठ महिना गाडी चलाए।

प्रशासनले उनीमाथि निगरानी बढाउन थालेपछि उनी काठमाडौँ आएर नेपाल नेसनल कलेजमा पढ्न थाले, हालको शंकरदेव क्याम्पसमा। राजनीतिको नशा चढिसकेको थियो। उनी काठमाडौं आएर पनि चुपचाप बसेनन्। भूमिगत गतिविधिमा सक्रिय भइरहे। त्यसबेला पूर्वको छात्रसंघ र पश्चिमको गण्डक छात्रा संघलाई मिलाएर नेपाल विद्यार्थी संघको स्थापना गरिएको थियो। उनी ने.वि संघको झण्डामुनि बसेर भूमिगत गतिविधि चलाउँथे। कोमर्चाको गतिविधि ‘वाच’ गरिरहेको प्रशासनले उनीविरुद्ध एकैपटक चारवटा जिल्लामा वारेन्ट जारी गर्‍यो। उनीविरुद्ध कोशी, वागमती, नारायणी र सगरमाथा अञ्चलमा वारेन्ट जारी भएको थियो। वारेन्टका कारण खुला रुपमा हिँड्न नसक्ने अवस्था आयो। केही सीप नचलेपछि अन्ततः उनी बिपीलाई भेट्न बनारस पुगे। त्यसपछि करिब सात वर्ष निर्वासित जीवन बिताए।

‘प्रवासको जीवन अभाव र कठिनाइले घेरिएको थियो। पार्टी चलाउनका लागि समेत खर्चको अभाव थियो,’ कोर्मोचा ती दिन सम्झिन्छन्। विपीको सल्लाहमा महेशले पार्टीलाई आर्थिक सहयोग गर्न जोगबनीमा गाडी चलाए। ‘पार्टीकै लागि भनेर रक्सीको व्यापार समेत गरेँ,’ अनुहारमा असजिलो हाँसो भरेर उनले भने, ‘गोपाल राईले रक्सी व्यापारको मार्केटिङ गर्थे, म त्यसको व्यवस्थापन गर्थेँ।’

निर्वासित जीवनकै क्रममा बनेको थियो ओखलढुंगा र सोलुखुम्बुको ब्यारेक कब्जा गर्ने योजना। २०२८ सालदेखि लगातार चार वर्ष उनीहरुले ब्यारेक कब्जा गर्ने योजना बनाए। ‘नेपाल आएर धरानदेखि सोलुखुम्बुको ‘रेकी’ गरिएको थियो,’ उनले भने, ‘भूतपूर्व सैनिक र कार्यकर्ता गरी २७ जनालाई भारतको वीरपुर, बनारस, वथान र फारविसगञ्जमा तालिम दिएका थियौँ।’

ब्यारेक हमलाको अन्तिम योजना तयार भयो। उनी र क्याप्टेन यज्ञबहादुर थापासहितको हतियारधारी फौज भारतबाट मिर्चैया हुँदै चुरेको फेदीमा आइपुग्यो। त्यसबेलासम्म उनीहरुको ‘रेकी’ गर्न हिँडेका गाइडसँगको सम्पर्क नै टुट्न पुग्यो। उदयपुरको कटारी आएर उनीहरुले बालाराज कार्की र १८ बर्षीय महेश कोइरालालाई ओखलढुंगाको टोक्सेलसम्म ‘रेकी’ गर्न पठाए। ती दुई पनि समयमा फर्केर आएनन्। उनीहरु भेटिँदा निर्धारित समय घर्किसकेको थियो। ३५ जनाको लडाकु फौजमा ओखलढुंगा पुग्दा १० जना लडाकु बिरामी भए। ‘फौज छाँटिइसकेपछि हाम्रो २५ जना लडाकुको समूह अघि बढ्यो। टोक्सेलबाट खिजी हुँदै ओखलढुंगाको ब्यारेक कब्जा गर्ने योजना थियो। समय घर्किसकेकाले हामीले योजना बदल्यौँ र ओखलढुंगाको खिजीबाट हिउँको बाटो हिँड्दै सोलु ब्यारेक हान्न अघि बढ्यौँ,’ पुरानो याद जीवित भएसँगै शान्त व्यक्तित्वका धनी कोर्मोचाको हाउभाउ जोशिलो बन्यो।

रामेछापका कांग्रेस कार्यकर्ताले फौजलाई आवश्यक पर्ने दालचामल, राडीपाखी र खुकुरीको बन्दोवस्त गरिदिए। क्याप्टेन यज्ञवहादुर थापा र महेश कोर्मोचा विद्रोही फौजको नेतृत्व गरेर ब्यारेक कब्जा गर्न आएका छन् भन्ने सूचना प्रशासनसंग पुगिसकेको थियो। ‘पच्छ्याउँदै आएको सरकारी सेनाले ओखलढुंगाको खिजीमा हामीलाई घेरा हाल्यो,’ कोर्मोचाले सुनाए, ‘सामान पत्करमुनि लुकाएर हामी घेरा छलेर सोलुतिर लाग्यौँ।’

२०३१ साल पुष १ गते सोलु ब्यारेक हान्ने योजना थियो। मंसिर २९ गतेको रात उनीहरु सोलुको एउटा गाउँ पुगे। रात झमक्क परिसकेको थियो। रात परेकाले टिम्बुरबोटेको जंगलमा एउटा ओडार खोजेर बस्ने सल्लाह भयो। क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बन्यो। बाँकी साथीलाई टिम्बुरबोटेको जंगलमा छाडेर उनी राती नै सल्लेरी तर्फ लागे।

‘बाटोमा कसैले नचिनोस् भनेर मैले फाटेका दौरासुरुवाल र स्वेटर लगाएको थिएँ,’ उनले सुनाए। गाउँलेको भेषमा सल्लेरीका सेना र प्रहरी ब्यारेक हेरेर फर्किदैँ गर्दा रात परेको हुनाले सल्लेरीकै दोर्पु बजारमा बास बसे उनी। साँढे एघारबजे रातीतिर उनी बसेको होटलमा सोधपुछका लागि गस्ती प्रहरी आयो। उनले होटलवालालाई आफू रामेछापको बासिन्दा भएको र साथीहरु भेट्न आएको बताएका थिए। होटलवालाले प्रहरीलाई महेशले बताएको विवरण जस्ताको तस्तै सुनाइदिए। प्रहरी थप सोधपुछ नगरी बाटो लाग्यो।

भोलिपल्ट बिहान उनले लगातार बम पड्किएको आवाज सुने। सेनाले तालिमका लागि बम पड्काएको होला भन्ने सोचेर चुपचाप टिम्बुरबोटेतिर लागे। ‘साल्मे भन्ने ठाउँमा आइपुग्दा एकहुल मान्छे गफ गरिरहेका थिए,’ उनले भने, ‘उनीहरु सेनाले थुप्रै कांग्रेस मारेको भन्दै खासखुस आवाजमा गफ गरेको मैले सुनेँ।’

केहीबेरअघि महेशले सुनेको बमको आवाज सेनाले तालिममा नभएर ओडारमा छाडेका उनकै साथीहरु बसेको ठाउँमा पड्काएको रहेछ। उनी संयोगले बाँचेका थिए। त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो।

ओडारमा बसेका केही लडाकु भाग्न सफल भए। भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा। उनी नेपाली सेनाका पूर्वक्याप्टेन थिए। नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए। टिम्बुरबोटे काण्डमा बल्लतल्ल बचेका थापा भाग्दै सोलुखुम्बुको आफ्नै पुरोहितका घरमा शरण लिन पुगे। बिहानको खाना संगै खाएका पुरोहितले दिउँसो क्याप्टेन थापा आफ्नो घरमा रहेको सुराक दिए प्रहरीलाई। पुरोहितले सुराक दिएपछि उनलाई खोज्दै प्रहरी आएको सुइँको पाएपछि थापा परालको कुन्युमा लुके। ‘तर रातभरको चिसोले गर्दा उनलाई बेस्सरी खोकी लागेछ, उनले कुन्युभित्रबाट खोकेको सुनेर पुलिसले थापालाई गिरफ्तार गरेछन्। ’पक्राऊ परेका थापालाई काठमाडौँ ल्याएर जेल चलान गरियो। जेलबाट निकालेर २०३५ सालको माघमा कमला नदीको किनार पुर्‍याइ हत्या गरियो।

टिम्बुरबोटेबाट बाँच्न सफल महेश कोर्मोचा घटनाको बारेमा थाहा पाइसकेपछि भाग्दै हिँडे। उनी लुक्दै भाग्दै ओखलढुंगाको खिजिदेम्बामा रहेका एकजना साथीको घरमा पुगे। भोलिपल्ट खिजीको हाटमा उनी बास बसेको घरका साथी पक्राउ परे, कांग्रेस कार्यकर्ता रहेको आशंकामा। उनले एकजना सुनुवार थरका साथीलाई आफ्नै भाषामा महेशका बारेमा जानकारी दिँदै जतिसक्दो चाँडो भाग्न खबर पठाए। जुत्ता लगाएर निस्किनै लाग्दा उनले प्रहरीहरु गाउँको माथ्लो भित्तामा आइपुगेको देखे। उनी बारीको डिलैडिल लिखु नदीतिर लागे। प्रहरी महेशलाई पछ्याउँदै आए। उनलाई जसरीपनि लिखु तर्नुपर्ने भयो। ‘पुलिस पछिपछि थियो,’ उनले सुनाए, ‘एउटा अग्लो थुम्कोबाट लिखुमा जे त होला भनेर हामफालेँ।’ प्रहरी डिलमा आइपुग्दा उनी हिउँजस्तै चिसो लिखु पौडिएर तरिसकेका थिए। त्यसपछि रामेछाप, दोलखा हुँदै काठमाडौं आएर उनी भारततर्फ लागे।

टिम्बुरबोटे काण्डपछि नेपाली कांग्रेसले सधैँका लागि सशस्त्र युद्धको बाटो छाडिदियो। २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किए। २०३३ मंसिरमा स्वदेश फर्किएका महेश पनि पक्राउ परे। राज्यविप्लवको मुद्दामा उनले पटकपटक गरी ८ वर्षको जेल जीवन बिताए। उनी २०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि दुई पटक जिविस सभापति र दुई पटक ओखलढुंगा कांग्रेसको सभापति भए।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि हात्तीछाप चप्पल लगाएर राजधानी छिरेका कांग्रेस नेता विलासी गाडी चढ्न थाले। पार्टी आर्थिक संकटमा पर्दा गाडी चलाएका, रक्सी बेचेका महेश किनारामा पारिए। कृष्णप्रसाद भट्टराई र गणेशमानसिंह जस्ता कांग्रेसका सादगी हस्तीलाई लत्याएर गिरिजाप्रसाद कोइराला पार्टीमा सर्वोसर्वा भए। महेशले जुन आदर्शका लागि लडेका थिए, त्यसबाट कांग्रेस बिस्तारै च्यूत हुँदै गएको देखे। त्यसपछि दुधे बालकदेखि आबद्ध रहेको पार्टीमा ७० बर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भए।

‘कांग्रेस आफ्नो मूल्यबाट विचलित भएर इमानदारलाई कदर गर्न छाडिसकेको भएर मैले पार्टी परित्याग गरेको हो’, कोर्मोचा कांग्रेस छोड्नुको कारण दिन्छन्, ‘इतिहास बोक्नेहरुलाई कदर गर्न नसक्ने पार्टीमा बस्नुको औचित्य नदेखेर बाध्य भएपछि मैले कांग्रेस परित्याग गरेँ।’

तर उनी नयाँ शक्तिसँग पनि सन्तुष्ट हुन सकेनन्। हाल उनी विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजक छन्। लामो इतिहास बोकेको पार्टीबाट बिदा भएका कोर्मोचाको जीवन अझै सक्रिय छ, उनको नयाँ राजनीतिक यात्राले आउँदा दिनमा कस्तो मोड लिने हो, त्यो त हेर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close