यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

भारतबाट आयात गर्ने बिजुलीको नयाँ दर तोकियो

उर्जाखबर
NEAकाठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने बिजुलीको नयाँ मूल्य निर्धारण भएको छ । नेपाल–भारत विद्युत आदान प्रदान समिति (पिइसी) को मंगलबार नयाँ दिल्लीमा बसेको बैठकले मूल्य तोकेको हो ।

११ केभीदेखि १३२ केभी प्रसारण लाइनबाट आयात हुने बिजुलीको नयाँ मूल्य निर्धारण भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘अब विद्युत आयातमा देखिएको अन्योल हटेको छ,’ उनले भने, ‘बैठकमा प्राधिकरणले कम क्षमताका प्रसारण लाइन निर्माणकाे प्रस्तावसमेत राखेको छ ।’

नयाँ मूल्यअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ निर्धारण भएको छ । प्राधिकरणले बिजुली किन्दा ११ केभीमा प्रतियुनिट १०.३२ रुपैयाँ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ ।

बैठकले कटैया–कुशाहा र रक्सोल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट आयात हुने बिजुलीको मूल्य पनि तोकेको छ । यी दुई लाइनबाट ५०/५० मेगावाट प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) मा आयात हुने प्रवक्ता अधिकारीले जानकारी दिए ।

उक्त मूल्य ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन र टनकपुर १३२ केभी लाइनबाहेकमा लागू हुनेछ । पिइसीले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । त्यसपछि पुनः मूल्य संशोधन गरिनेछ । पिइसीको अर्को बैठक सन् २०१८ मार्चअघि बस्ने दुवै पक्षबीच सहमति भएको छ ।
भारत धनगढी–पलिया ३३ केभी लाइनबाट थप १० मेगावाट बिजुली निर्यात गर्नसमेत सहमत भएको छ । सन् २००७ देखि बन्द रहेको यो लाइन आगामी दुई महिनाभित्र चार्ज गर्न प्राधिकरण तयार भएको छ । योसँगै आगामी हिउँदमा भारतबाट थप १ सय १० मेगावाट बिजुली आयातको टुंगो लागेको छ ।

प्राधिकरणले बैठकमा ३ वटा १३२ केभी र २ वटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव पनि राखेको छ । अधिकारीका अनुसार पलिया–धनगढी/अत्तरिया, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।

बैठकमा नेपाल–भारत इनर्जी बैंकिंङको विषयमा पनि छलफल भएको थियो । प्राधिकरणले सन् २०१२ देखि भारतसँग इनर्जी बैंकिङको प्रस्ताव राख्दै आएको छ । नेपालमा बर्खामा बढी बिजुली हुँदा भारतलाई दिने र हिउँदमा अपुग हुँदा उताबाट ल्याउने अवधारणअनुसार इनर्जी बैकिङबारे छलफल हुँदै आएको छ ।

नयाँ प्रसारण लाइन निर्माण र इनर्जी बैंकिङको विषय नेपाल–भारत सचिव स्तरिय संयुक्त (जेएससी) बैठकमा पेस गर्ने सहमति भएको छ । जेएससीको बैठक आगामी भदौ पहिलो साता बस्ने तयारी छ ।

पिइसी बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले गरेका थिए । बैठक यसअघि सन् २०११ मा बसेको थियो । बैठक बसेर मूल्य संशोधन नहुँदा प्राधिकरणले ती नाकाबाट आयात गर्ने बिजुलीको मूल्य बढीमा प्रतियुनिट ११ रुपैयाँसम्म तिर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close