परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समुहद्वारा खण्डन

व्यक्तिगत चरित्र हत्या गर्ने नियतले दुस्प्रचार गरिएको भन्दै आपत्ति

  • शिखरपोष्ट रिपोर्टर

NMA election 2017काठमाडौं, २६ साउन । नेपाल पर्वतारोहण संघको (एनएमए)को निर्वाचनमा धाँधली भएको आरोप गलत भएको सन्तबिर लामा पक्षले दाबी गरेको छ । लामा समूहले विहिबार लैनचौर बैंक्युटमा पत्रकार सम्मेलन गरी जिम्बा जाङ्बु शेर्पा समुहले निर्वाचनमा भएको लज्जास्पद हार स्वीकार्न नसकेर धाँधली भएको हवाला दिइरहेको भन्दै त्यस्तो आरोपको पछि नलाग्न आग्रह गरेको छ ।

शेर्पा समुहले गत शनिबार सम्पन्न एनएमएमा धाँधली भएको भन्दै सीसीटीभी फूटेज सार्वजनिक गरेपछि दुई पक्षीय विवाद चरम उत्कर्षमा पुगेको हो । पत्रकार सम्मेलनमा बोल्दै एनएमएका वर्तमान कोषाध्यक्षसमेत रहेका नवनिर्वाचित सचिव टिकाराम गुरुङले निर्वाचनमा धाँधली गरेको भन्ने आरोप हार मानसिकताको उपज भएको बताए । धाँधलीको नाउँमा आफ्नो व्यक्तिगत चरित्र हत्या हुनेगरी दुस्प्रचार गरिएको भन्दै उनले आपत्तिसमेत जनाए ।

जिम्मेवार कोषाध्यक्षको हैसियतले एनएमए कार्यलय गएर चार जनाको मतदान परिचय पत्र लिएको तर यसमा कुनै छलकपट नभएको स्पष्ट पार्दै गुरुङले भने, ‘शेर्पा समुहले निर्वाचन हारेपछि वितण्ड मच्चाउने हर्कतका साथ सिसिक्यामराको फूटेज सार्वजनिक गरेको छ । उनीहरुले सीसीटिभीको फूटेजलाई गलत रुपमा व्याख्या गर्दै अलोकतान्त्रिक व्यवहार देखाएको छन् । यो एनएमएको ४३ वर्षको इतिहासमा कालो धब्बा हो ।’ एनएमएको १७ औं निर्वाचन विधि र विधान सम्मत तरिकाले भएको दाबी गर्दै उनले यदि कहि कतै गलत मनसायको साथ ऋुटि गरिएको भेटिएमा आफू सजायको भागिदार हुन तयार रहेकोसमेत बताए ।

नवनिर्वाचित अध्यक्ष सन्तबीर लामाले शेर्पा प्यानलको कसैको व्यक्तिगत चरित्र हत्या गर्ने नियतका साथ दुष्प्रचार गरिएको भन्दै यस्तो दुष्प्रचार गर्नेलाई अभिलम्ब कानुनी कठघरामा उभ्याउन माग गरे । ‘संस्थाको कोषाध्यक्ष जस्तो व्यक्तिले पारदर्शी रुपमा मतदाता परिचय पत्र ल्याएर सहयोग गर्नु कसरी गैरकानुनी हुन्छ ? लामाले प्रश्न गरे, ‘मतदाताहरुको कार्ड एनएमएको पारदर्शी ठाउँ अनि उज्यालो ठाउँमा लगेर बुझाएको छ । कुनै बत्ति नबालेको कोठाबाट मतदाता परिचय पत्र ल्याएको होइन ।’ यहाँ आफुहरुले कुनै छलकपट नगरेको बरु शेर्पा समुहले संघको सिसिक्यामेराको फूटेज जस्तो संवेदनशील चिजलाई दुरुपयोग गरेर छलकपट गर्न खोजेको आरोप उनले लगाए ।

‘छलकपट हामीले होइन, शेर्पा प्यानलले गरेको छ’ उनले भने ‘एनएमएको सचिवालयको निर्णयपछि मात्रै दिन मिल्ने सिसिक्यामाराको फूटेज कसरी रातारात बाहिर आयो ? यो भन्दा अरु छलकपटपूर्ण गतिविधि अरु के हुन सक्छ ?’

लामाले एनएमएमा आफ्नो जितसँगै तानशाह प्रबृत्ति ढलेको बताउँदै आफुहरुको जित समग्र आरोही, व्यवसायी र पर्वतारोहण क्षेत्रको जित भएको बताए । लामाले वर्तमान अध्यक्ष आङछिरिङ शेर्पालाई दुधको साँक्षी विरालो भएको संकेत गर्दै घुमाउरो भाषामा एनएमएको भलोको लागि इमान्दारितापूर्व भूमिका निर्वाह गर्न सुझाए ।

पत्रकार सम्मेलनमा लामा समुह निर्वाचन परिचालन कमिटीका संयोजक निमानुरु शेर्पा, टानका पूर्व अध्यक्ष सिताराम सापकोटा, टानका पूर्व महासचिव नवराज दाहाल, महासचिवका उम्मेद्धार बोधराज भण्डारीलगायतले धाँधली भएको आरोप गलत भएको भन्दै त्यसविरुद्धको अभिव्यक्ति दिएका थिए ।

गत शनिबार सम्पन्न एनएमएको निर्वाचन हार व्यहोरेको जिम्बा जाङबु शेर्पा समुहले निर्वाचन परिणाम आएको दुई दिनपछि पत्रकार सम्मेलनमार्फत धाँधली भएको भन्दै सीसीटिभी फुटेज सार्वजनिक गरेको थियो । जिम्बा समुहले आफूलाई हराउन लामा प्यानलले फर्जि मतदान गराएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदनसमेत दिएको छ ।

विवादको चुरो कुरो ?

साउन २१ गते, स्थानः काठमाडौंको नक्सालस्थित स्टार भेन्यू । करिब दिउँसो २ बजे मतदाता कृष्ण बहादुर गुरुङ मतदान गर्न आउँदा उनको नामबाट अरु कसैले मतदान गरिसकेका थिए । यसरी फर्जी मतदान भएको पाइएपछि करिव १५ मिनेट मतदानस्थल तनावपूर्ण बन्यो र मतदान कार्यक्रम नै रोकियो । मतदानस्थल पूरै कोलहालपूर्ण बनेपछि एनएमए निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत केशव थापाले संघका वर्तमान अध्यक्ष आङछिरिङ शेर्पा, अध्यक्षका उम्मेद्धारद्धय लामा र शेर्पा तथा दुबै पक्षका एक एक जना प्रतिनिधि राखेर सर्वपक्षीय छलफल गरेका थिए ।

छलफलबाट संघको सक्कल कार्ड विना मतदान गर्न नपाउने सहमति भयो र त्यहीअनुरुपको माइन्युटमा हस्ताक्षर गरियो । यसअघि सार्वजनिक निर्वाचन आचरसंहितामा व्यवसायीले नागरिकता र सवारीचालक अनुमती पत्रबाट मतदान गर्न पाइने उल्लेख गरिएपनि अब मतदान गर्नको लागि एनएमएको कार्ड अनिवार्य लागु हुने भयो ।

प्रमुख निर्वाचन अधिृकत थापाकाअनुसार यही क्रममा कोषाध्यक्ष गुरुङले संघको कर्मचारी पुष्प ढकालको सहयोगमा कार्ड लिएका थिए । मतदान गर्न नयाँ व्यवस्था भएपछि गुरुङले सुरुमा चार जना र पछि पाँच जना गरी ९ जनाको कार्ड लिएर आएको बताउँदै उनले सिसिटिभि फुटेजमा पनि प्रष्ट देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close