शिखरपोष्ट रिपोर्टर काठमाडौं, २५ भदौं । जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । पल्सर स्पोर्ट्स अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् ।
यो अवार्डका लागि मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेकी थिइन् ।
मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।
यस्तै एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन् । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टन किरण थापा मनोनयनमा परेका थिए ।