प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

‘हिमालयन ट्राभल मार्ट २०१७’ को फाइल किन अख्तियारमा पुग्यो ?

पाटाले सहयोग मात्र गरेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेको भनाइ

  • केदार दाहाल

travel mart (2)काठमाडौं, २३ असोज । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा आयोजना गरेको ‘हिमालयन ट्राभल मार्ट २०१७’ को खर्च विवरण अपारदर्शी भएको भन्दै अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । प्रत्येक वर्ष आयोजना गर्ने योजनासहित सुरु भएको मार्ट पहिलो पटकमै विवादमा परेको छ । जसका कारण अर्को वर्ष हुने मार्ट नै अन्योलमा पर्ने देखिएको छ ।

जेठमा आयोजना गरिएको उक्त मार्टको आयोजना नेपाल सरकारले गरेको थियो । मार्टको आयोजना सुरुमा एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले गर्ने भनिए पनि पछिल्लो चरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्ड नै मुख्य आयोजक रहेका थिए । तर, सम्पूर्ण व्यवस्थापन तथा खर्चको अधिकार भने पाटा नेपाल च्याप्टरलाई दिइएको थियो । सोही विवादास्पद निर्णयसँगै मार्टमा अनियमितताको आशंका उत्पन्न भएको हो । तर, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पान्डे पाटाले खर्च गरेको नभएर सहयोग मात्र गरेको बताउँछन् । “हामीले सहयोग मात्र गरेका हौं, सबै होटल–होटलमा बिल नेपाल पर्यटन बोर्डले नै तिरेको हो,” पान्डेले भने । पाण्डेले कुनै पनि कार्यक्रम गर्दा सबैको चित्त नबुझेको हुनसक्ने भए पनि सबै खर्च पारदर्शी रुपमा सार्वजनिकसमेत गरेको दावी गरे ।

अख्तियारले सार्वजनिक खरिद ऐनविपरित लाखौं खर्च हुँदा कुनै पनि टेन्डर आह्वान नभएकोले समेत मार्टको खर्च छानविनमा परेको हो । अख्तियारले ३ करोड ५० लाख खर्च हुँदा कुनै पनि शीर्षकमा टेन्डर नदेखिएपछि मार्टको खर्चमा छानबिन गरिएको जानकारी दिएको छ ।
अख्तियारले हाल जारी राखेको छानविनमा आयोजक नेपाल सरकार हुने तर सम्पूर्ण खर्च तथा हिसावकिताव किन निजी क्षेत्रको संस्थालाई दिइएको भन्ने विषयमा केन्द्रित रहेर छानविन गरेको स्रोतले जानकारी दिएको छ । सार्वजनिक खरिद ऐनविपरित लाखौं रुपैयाँ खरिद गर्दासमेत कुनै पनि टेन्डर आह्वान नगरी गरिएकोले समेत मार्टको खर्च विवादमा तानिएको हो । १ सय जनाभन्दा बढी सहभागिलाई आउनेजाने हवाई टिकटदेखि नेपाल बसाईको सम्पूर्ण खर्च नेपाल आफैंले बेहोरेको थियो ।

अख्तियारले २ करोड रुपैयाँमा खर्च सम्पन्न गर्ने भनेको मार्टलाई ३ करोड ५० लाखभन्दा बढी नगद खर्च गरेको तथा अन्य बार्टर तथा सहयोग भन्दै झन्डै ७ करोड रुपैयाँको खर्च विवरणमा आशंकाका कारण छानविन गरेको हो । अख्तियारले मार्टका सम्पूर्ण डकुमेन्ट तथा खर्च विवरण जफत गरेर छानविन जारी राखेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारले नेपाल पर्यटन तथा मार्ट सचिवालय पाटाबाट सवै विवरण जफत गरेको हो ।

अख्तियारमा मार्ट सम्पन्न भएलगत्यै ६ सय १७ दर्ता नम्बरमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारले छानविन सुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले यस विषयमा कुनै पनि जानकारी नभएको बताए । हिमालयन ट्राभल मार्ट २०१७ मा ३ करोड १९ लाख ८४ हजार ३ सय ३३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । गत जुन १ देखि ४ सम्म काठमाडौंमा सम्पन्न गरिएको थियो ।

मार्टमा १ करोड २५ लाख ६८ हजार ४४ रुपैयाँ उठेकोले बाँकी रहेको १ करोड ९४ लाख १६ हजार २ सय ९३ रुपैयाँ सह आयोजक नेपाल पर्यटन बोर्डले भुक्तानी गर्नुपर्ने भन्दै पाटा च्याप्टरले खर्च विवरण सार्वजनिक गरेको थियो । उठेको तथा बाटर भनिएका हवाई टिकटसमेत एउटै कम्पनीबाट जारी गरिएको छ । उक्त टिकटको रकम समेत भुक्तानीका लागि बोर्डमा बिल पठाइएको छ ।

मार्टको खर्च ७ करोड २१ लाख ३८ हजार ६ सय ९३ रुपैयाँ रहेको भएपनि ४ करोड १५ लाख ४३ हजार रुपैयाँ भने नेपालका विभिन्न संस्थाले प्रायोजन गरेको पाटाले बताउँदै आएको छ । साभार कारोबार दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close