- शिखरपोष्ट रिपोर्टर फोटोः बसन्त खालिङ
काठमाडौं, १७ मंसिर । रिहेल्पद्धारा निर्मित सोलुखुम्बु दुधकोशी गाउँपालिका वडा नं. २ मा अवस्थित श्री बासाखाली माविको दुई वटा नयाँ भवनको औपचारिक उद्घाटन गरिएको छ । राप्छा बाल विकासको दुई कोठे नयाँ भवन र भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनःनिर्मित दुईकोठे भवनको एकैचोटी उद्घाटन गरिएको हो ।
मंसिर १२ गते विद्यालय परिसरमा आयोजित एक भव्य समारोहबीच जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई, दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र सहयोगी संस्था रिहेल्पका संस्थापक अध्यक्ष रिनाले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभयो । यूवा पर्यटन व्यवसायी तथा समाजसेवी पञ्चे राईको समन्वयमा रिहेल्पले निर्माण गरेको उक्त भवनमा सुविधा सम्पन्न चार वटा कोठाहरु रहेका छन् ।
कार्यक्रम उद्घाटन समारोहमा जिसिअ डिक बहादुर राईले गुणस्तरीय शिक्षाको सपना साकार पार्ने पहिलो आधारको रुपमा यो भवन निर्माण भएको उल्लेख गर्दै सहयोगी संस्था रिहेल्प र रिहेल्पका संस्थापक अध्यक्ष रिना तथा समन्वयकर्ता पञ्चे राईप्रति धन्यवाद ज्ञापन गर्नुभयो । यो भवनको संरक्षण, संवद्र्धन गर्दै यहाँको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने दायित्व विद्यालय र स्थानीयबासीको भएकोसमेत उहाँले बताउनुभयो ।
दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले विद्याको मन्दिरको भौतिक संरचना निर्माणका लागि रिहेल्पले गरेको योगदानको उच्च प्रसंशा गर्दै यसबाट विद्यालय, अविभावक र विद्यार्थीहरुको शिक्षाप्रतिको लगावका लागि हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको शिक्षामा गुणस्तरीयता प्रदान गर्नका लागि गाउँपालिका गम्भिर रहेकोसमेत बताउनुभयो ।
रिहेल्पका संस्थापक अध्यक्ष रिनाले यहाँको बालबालिकाहरुको उज्वल भविष्यका निम्ति आफुहरुले भवन निर्माण गरेको उल्लेख गर्दै यसलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्ने जिम्मा विद्यालय र स्थानीयबासीको भएको बताउनुभयो । उहाँले आगामी दिनमा आवश्यकताअनुसार थप सहयोग गर्ने बचनबद्धतासमेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै रिहेल्पका समन्वयकर्ता पञ्चे राई, विव्यास अध्यक्ष जसे राई, राप्छा बाल विकासका अध्यक्ष अर्जुन राई, रिहेल्पका कोषाध्यक्ष मार्कस, बिद्यालयका प्रध्यानाध्यापक कुमार राज श्रेष्ठलगायतले विद्यालयको गुणस्तरीयताका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा विद्यार्थीहरुको तर्फबाट विभिन्न सांगीतिक प्रस्तुतिहरुसमेत रहेको थियो । सहयोगी दाताहरु तथा कार्यक्रममा सहभागि पाहुनाहरुलाई बाजागाजासहित माला लगाएर भव्य सम्मानसमेत गरिएको थियो ।