विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

माओवादीको एमालेतर्फ आत्मसमर्पण सम्भव छैनः गोपाल किराती

‘जुम्रे अवसरवादविरुद्ध आठौँ महाधिवेशन गरौं’

39572

goapl-kirati-2-001काठमाडौं, २२ मंसिर । माओवादी केन्द्रका नेता एवं प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल किरातीले एमालेसँग ‘आत्मसमर्पण सम्भव नरहेको’ भन्दै तत्काल माओवादी पार्टीको आठौं महाधिवशेन बोलाउन पार्टी नेतृत्वसँग माग गरेका छन् ।
किरातीले एमालेलाई ‘हरियो सर्प’ को संज्ञा दिँदै उससँग गठबन्धन गरेर पार्टी नेतृत्वले गल्ती गरेको बताएका छन् । माओवादी नेता किरातीको तर्क छ– ‘१२ बुँदे समझदारीको निश्कर्ष र संविधान संशोधनमा अग्रसरताको दृष्टिले माओवादी केन्द्रले नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्नुपथ्र्यो ।’

अब प्रदेश नम्बर १ मा पहिचानका आधारमा प्रदेश नामाकरण जसले गर्छ, त्यही दलसँग प्रदेश सरकारमा गठबन्धन गरिने किरातीले घोषणा गरेका छन् । उनी माओवादीका प्रदेश इञ्चार्ज हुन् ।

किरातीले एमालेसँग मिल्न खोज्ने माओवादी नेताहरुलाई ‘जुम्रे अवसरवादी’ को संज्ञासमेत दिएका छन् ।

केपी ओलीसँग आक्रमकरुपमा प्रस्तुत भएका माओवादी नेता किरातीले चुनावी मतगणनाको परिणाम आइनसक्दै अनलाइनखबरमा प्रेसित गरेको आक्रामक लेख यस्तो छः

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघिका हप्ता दिन केपी ओलीका तीन अन्तर्वाताहरु चर्चामा रहे । अन्नपूर्ण पोष्ट, कान्तिपुर दैनिक र अनलाइनखबरका ती अन्तरवार्ताहरु माओवादी केन्द्रको छाला काढ्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई घोषितरुपमा विसर्जन गर्न केन्द्रित छन् ।

जनयुद्धको भूल स्वीकार गर्दै क्रान्तिकारी विचार परित्याग गरेर माओवादी केन्द्र ‘एकतामा आए आउँछ, नआए यत्रैसित्ती’ सारतत्वको खड्ग ओलीको अन्तर्वाताले ‘आए आँप गए झटारो’ को लोकोक्ति चरितार्थ गर्छ ।

ओलीको अभिव्यक्तिलाई लिएर जनयुद्ध लडेका महानहरुलाई कमरेड आहुतिले गर्नुसम्म व्यङ्ग्य गरे । आहुतिको व्यङ्ग्य एकदम सही थियो ।

राजनीतिक नैतिकताको प्रश्न हो कि एमालेसँग एकताको प्रस्ताव गर्ने र समर्थन जनाउने हाम्रा नेताहरु अब के गर्छन् ? नैतिकता मात्र होइन, महान जनयुद्धको मूल्याङ्कन र नेपाली कम्युनिष्ट आन्दोलनमाथि ओलीले खतरनाक प्रश्न उठाएका छन् ।

‘नेपालका कम्युनिष्ट लाभ, विकास आदि मात्र चाहने राजनीतिक हुन, दार्शनिक र वैचारिक होइनन्’ भन्ने ओलीको अभिव्यक्ति ठाडै मार्क्सवाद—लेनिनवाद—माओवादमाथि प्रतिक्रियावादी निषेधको घोषणा हो । महान आदर्शमा बलिदानको इतिहास रचेका नेपाली क्रान्तिका शहिदहरुको अचाक्ली अपमान हो ।

‘माओवादीहरुको सशस्त्र संघर्ष वैचारिक भूल थियो, माओवादीको हिंसाबाट गणतन्त्र आएको हो र ?’ भनेर अन्नपूर्ण पोष्टमा बोलेका ओलीको अन्तर्वातालाई आहुतिले यसरी संक्षेपीकरण गरेका छन्– ‘जनयुद्ध वैचारिक भूल हो । राजतन्त्र फाल्न माओवादी जनयुद्धले मुख्य भूमिका खेलेको होइन । माओवादी केन्द्र र एमालेबीचको एकता बाम वा कम्युनिष्ट एकता होइन आदि ।’

त्यस्तै कान्तिपुर दैनिकमा खड्ग ओलीले भनेका छन्–माओवादीका …..नीतिगत र व्यवहारिक अस्पष्टता थिए । ती कुरा छाडेर नै अब एमालेका परिपक्क नीतिहरु जुन छन्, ती नीतिहरुमा सहमत हुने हो । हामी अलिकता अन्योल पनि मिसाऊँ, अलिकति अष्पस्टता पनि मिसाऊँ भन्ने होइन । स्पष्टतामा जाने हो । नीतिगत हिसाबले भन्ने हो भने एमालेको नीति व्यवहारमा जान्छ कि माओवादीको ? स्पष्ट भए हुन्छ, एमालेको नीति व्यवहारमा जान्छ ।’

अनलाइनखबरमा अन्तर्वाताको शीर्षक नै काफी छ, अरु विश्लेषण जरुरी छैन । त्यसको शीर्षक छ—संविधान संशोधन हुँदैन, कार्यकारी राष्ट्रपति चाँहिदैन । ओलीको पूरै अन्तर्वाता यही शीर्षकमा केन्द्रित छ ।

एमाले अध्यक्ष खड्ग ओलीद्वारा अभिव्यक्त उपारोक्त तथ्यहरुले प्रमाणित गर्दछन् कि शुरुदेखि नै हामीले उठाउँदै आएको कथित एकताविरुद्ध वैचारिक राजनीतिक प्रश्न सही छ ।

हामी भनिरहेका छौँ, मार्क्सवाद—लेनिनवाद—माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर गरिने एकता कुनै क्रान्तिकारी एकता नभएर सोझै एमालेमा विलय हो ।

ओलीका तीन अन्तरवार्ताले यति प्रष्ट भाषामा एमालेमा विलय प्रमाणित गरिसक्दा पनि माओवादी केन्द्रका जुम्रे अवसरवादीहरु उतै लम्पसार पर्छन् भने शहिद तथा वेपत्ताको सपना के हुने ?

ओली उत्तेजनाको कारण के होला ?

पहिलो कारण त एमालेको मुख्य हिस्सा र खड्ग ओली जे हुन्, उनको अन्तर्वार्तामा त्यही मुखरित भएको हुनुपर्छ । उपेन्द्र यादवले पनि कुनै समय खड्ग ओलीलाई इमानदार भनेका थिए । ओली साँच्चै इमानदार हुन् । तर, वैज्ञानिक समाजवाद, पहिचान र नयाँ राष्ट्रिय एकता तथा परिवर्तनविरुद्ध केन्द्रित प्रतिक्रियावादी कित्ताप्रति इमानदार हुन् ।

 

जनयुद्धको जगमा जनआन्दोलन र प्रथम संविधानसभाले गणतन्त्र नेपाल घोषणा गरेको इतिहास त्यही प्रतिगामी चिन्तनका कारण ओलीले देख्नै सक्दैनन् । यसर्थ ओलीको इमानदारिता पुरानो सामन्ती समाज तथा दलाल पुँजीवादी राज्यको निम्ति उचित होला, नयाँ नेपालको निम्ति किमार्थ होइन ।

दोस्रो कारण, विशिष्ट लाग्छ । चुनाव सकिएलगत्तै माओवादी केन्द्रविरुद्ध ओलीले आफ्नो खुराफाती कपट पोख्ने नै थिए । तर, चुनावअघि नै किन उत्पात गरे ? सोझै अनुमान गर्न सकिन्छ, चिनियाँ कम्युनिष्ट पार्टीले माओवादी केन्द्रलाई नम्बर १ मा राखेर प्रचार गर्‍यो ।

त्यहीबेला प्रचण्डको भारी प्रशंसा पनि गर्‍यो । तब खड्ग ओली उत्तेजित भए र भारतको शरणमा लम्पसार परे । भारतीय विस्तारवादको आशिर्वाद प्राप्त भयो, ओलीले माओवादीको छाला काढे ।

उत्तरलाई देखाइदिन पाइने, दक्षिणको गजब सेवा हुने र माओवादीलाई बेइज्जत गर्न पनि सकिने रणनीतिअन्तर्गत ओलीले त्यसो गरेका हुन् ।

स्मरण रहोस कि हामीले यसअघि नै भनेका हौँ, खड्ग ओली भारतीय कांग्रेसका ‘कर्मचारी’ जस्तै हुन् । भाजपा र कांग्रेसको आन्तरिक द्वन्द्वमा कांग्रेसको कर्मचारीलाई भाजपाले राम्रो मानेन । परिणाम नेपालले अघोषित नाकाबन्दी ब्यहोर्नु पर्‍यो । नेपालमा थरुवान—मधेसको आन्तरिक प्रश्न पनि गम्भीर थियो ।

अन्त्यमा अन्तर्राष्ट्रिय जगतमा इज्जत जोगाउन भाजपा सरकार पछि हट्यो र नाकाबन्दी हटाउन बाध्य भयो । नानीदेखि लागेको ओलीको बानी हट्ने कुरै भएन । यसपटक उनले कथित एकताको पक्षमा लम्पसार परेका जुम्रे अबसरवादीहरुको लिनुसम्म हुर्मत लिए ।

‘वाम’ अब गठबन्धन के हुन्छ ?

नेपाली राजनीतिमा गठबन्धन भनेकै नितान्त अस्थायी संरचना हुने गरेको छ । त्यसमाथि पार्टी एकता संयोजन समितिको छ बुँदे पत्रले माओवाद र पहिचान मुद्दा स्वीकार गर्ने संकेतसम्म गरेको छैन ।

चुनावको मुखमा खड्ग ओलीले माओवादी केन्द्रलाई लतार्ने जुन अभिव्यक्ति दिएका छन्, त्यसको आधारमा एमालेसँगको गठबन्धनबारे पार्टीले छलफल र निर्णय गर्छ । तर, अब एमालेसँग माओवादी केन्द्रको एकता नामको आत्मसमर्पण भने किमार्थ सम्भव छैन ।

१२ बुँदे समझदारीको निश्कर्ष र संविधान संशोधनमा अग्रसरताको दृष्टिले माओवादी केन्द्रले नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्नु पर्थ्यो । हामीसमेतको जोडमा त्यसतर्फ सहकार्य अघि बढेको पनि हो । कांग्रेससँगको सहकार्यमा हामीहरुको स्वार्थ आपसका जनमत सुरक्षित रहन्थ्यो ।

अपवादबाहेक कांग्रेसको मानिस माओवादीमा र माओवादीको मानिस कांग्रेसमा प्रभावित हुँदैनन् । तर एमाले हरियो सर्प हुनाले त्यसले माओवादी क्रान्तिकारीलाई विष हाल्ने खतरा हुन्छ । त्यसबाट सुरक्षित हुन नेपालमा कम्युनिष्ट पार्टी माओवादी र पुँजीवादी पार्टी कांग्रेस सहकार्यको बाटो भएर जानुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।

स्थानीय चुनावमा केही गठबन्धन पनि भए । तर, कांग्रेसबाट अपेक्षित परिणाम प्राप्त हुन सकेन । वा के कारणले हो, प्रदेश र प्रतिनिधिसभामा नेतृत्वले हठात र अप्रत्यासित कदम उठायो । परन्तु, हामीहरुको विरोध गठबन्धनमा नभएर माओवाद र पहिचान मुद्दालाई धरापमा पार्ने एकताविरुद्ध केन्द्रित छ ।

१ नं. प्रदेशको सन्दर्भमा हामीलाई लाग्छ, ऐतिहासिक तथा सामुदायिक पहिचानका आधारमा प्रदेश नामाकरण र माओवादी केन्द्र प्रदेशसभा निर्वाचन घोषणापत्रका कार्यक्रमहरु जसले सम्वोधन गर्छ, त्यही दलसँग प्रदेश सरकारमा गठबन्धन हुन्छ । अरुतिर पनि यही नीति उपयुक्त हुन्छ ।

आठौँ महाधिवेशन आयोजना गरौँ !

नेकपा माओवादी केन्द्र विश्व साम्यवादी दृष्टिकोण र एक महान इतिहास भएको अग्रदस्ता हो । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायको अग्रदस्ता हो । केही वर्षयता केही नेताहरु संभ्रान्त वर्गीय जीवनशैलीमा पतन भए भनेर क्रान्तिकारीहरु पटक्कै निरुत्साहित बन्नु हुँदैन ।

 

माओवाद भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो । अतः निरन्तर संघर्ष जारी राख्नुपर्छ । माओवाद एउटा व्यापक विज्ञान हो । जुन विज्ञानका आधारमा अनेक क्रान्तिकारी उपायहरु मौजुद छन् । मात्र दृढ इच्छाशक्ति चाहिन्छ, उपायहरु भेटिन्छन् ।

माओवादी केन्द्रको जीवनमा तत्काल आवश्यक उपाय आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्नु हो । जसबाट यी तमाम प्रश्नहरुको वैज्ञानिक जवाफ निर्माण गर्न सकियोस् ।

कम्युनिष्ट आन्दोलनमा देखिने वाम, दक्षिण र मध्य प्रवृत्तिकै अनुरुप माओवादी केन्द्रका नेताहरु देखिन्छन् । त्यसमा पहिलो—विचार र राजनीतिबारे अध्यक्षले जे प्रस्ताव ल्यायो, दुई हात उफ्रेर समर्थन गर्ने । तर, आफ्नो व्यक्तिगत स्वार्थका लागि भिषण छिनाझपटी संघर्ष गर्ने दक्षिणपन्थी प्रवृत्ति हो ।

जुम्रे अवरवादका रुपमा पार्टीमा यो प्रवृत्ति निक्कै हाबी छ । दोस्रो—विचार र राजनीति बुझ्न नखोज्ने, बुझे पनि बोल्न हिचकिचाउने । बोल्यो भने केही पाउन लागेको गुम्ला भन्ठान्ने मध्यपन्थी प्रवृत्ति हो, जसलाई दब्बु अवसरवाद भन्न सकिन्छ । तेस्रो—विचार र राजनीतिमा केन्द्रित हुने क्रान्तिकारी प्रवृत्ति हो ।

यी वस्तुगत प्रश्नहरुको सकारात्मक जवाफको अभावमा कथित एकता नामको आत्मसर्पण सम्भव छैन

अहिले पार्टीमा क्रान्तिकारी प्रवृत्तिको माग राष्ट्रिय महाधिवेशन हुनुपर्छ । माओवादी केन्द्रको विद्यमान केन्द्रीय निकाय राष्ट्रिय महाधिवेशन आयोजक समिति हो र महाधिवेशन आयोजना गर्नु यस समितिको प्रमुख कर्तव्य हो ।

७ प्रदेश समिति बैठकमा संख्या घटाउने प्रस्ताव पारित भए पनि पार्टीको वीरगञ्ज सचिवालयले ४ हजार जनाको आयोजक समिति कायम राखेको छ । नेतृत्वले आयोजक सदस्यको बिस्कुन लगाएर होइन, कार्यकर्तालाई उपहासको पात्र बनाएर होइन, माओवादी सिंह भएर गर्जनु पर्छ ।

विचार, राजनीति तथा संगठन र एकता जस्ता सबै फैसला महाधिवेशनले गर्न पाउनुपर्छ । आठौँ महाधिवेशन आयोजनाबाट कमरेड प्रचण्ड नेतृत्वको आयोजक समिति भाग्न मिल्दैन ।

कसैले आत्मासमर्पण गरेछ नै भने पनि त्यहाँ प्राविधिक समस्या गम्भीर छ । एमालेसँग एकता महाधिवेशन आयोजक समिति गठन गर्दा पनि एमालेहरु दशौँ महाधिवेशन भन्नेछन् भने माओवादी केन्द्रको इतिहासमा आसन्न महाधिवेशन आठौँ हुनेछ ।

माओ त्सेतुङले खासगरी क्रान्तिकारीहरुलाई भन्नुभएको छ, माक्र्सवाद लागु गर, संसोधनवाद होइन । खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर । एकतावद्ध होऊ, नफुट । यी तीन गर र तीन नगरको कार्यनिर्देशिका अभ्यास गर्न नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको मिति तोक्न पार्टीको सबै तह र क्षेत्रबाट जोडदार माग गर्नैपर्छ ।

अन्त्यमा, हामीहरु किमार्थ एकता विरोधी होइनौँ । कम्युनिष्ट एकताको जोडदार पक्षपाती हौँ । हाम्रो इतिहासले पनि यो तथ्य पुष्टि गर्छ । तर, के आधारमा र केका निम्ति एकता ? वैज्ञानिक समाजवादका निम्ति कि मरणासन्न संसदवादको निम्ति ? उत्पीडित राष्ट्रिय समुदायको पहिचान सम्वोधनको निम्ति कि अझ निर्मम दमनका निम्ति ? श्रमिकवर्गको स्वामित्वमा राष्ट्रिय पुँजी निर्माण गर्न कि दलाल पुँजीवादलाई यथास्थितिमा अझ सुदृढ गर्न ? खड्ग ओली एण्ड एमाले कम्पनीले यसको जवाफ दिनुपर्छ ।

यी वस्तुगत प्रश्नहरुको सकारात्मक जवाफको अभावमा कथित एकता नामको आत्मसर्पण सम्भव छैन । किनभने यी प्रश्नहरुको सकारात्मक जवाफको अभावमा नेपाली सर्वहारा क्रान्ति, नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डता तथा सामाजिक न्यायसहितको आर्थिक सम्मृद्धि किमार्थ सम्भव छैन ।

(किराती माओवादी केन्द्रका नेता हुन् । यो उनको व्यक्तिगत विचार हो)- onlinekhabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*