पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल   •   लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा   •   यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्   •   महिला आत्मनिर्भरताको नारा बोकेर ३ महिला आरोही सगरमाथा चढ्दै   •   विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख   •   महाकुलुङका अधिकांश घरमा बिरामी, स्वाइनफ्लुको आशंका

लाहुरेले बनाएको शहर

धरानको इतिहास : कोशी अञ्चलको सुनसरी जिल्ला अन्तर्गत पर्ने धरान एकसय १७ वर्ष अगाडीसम्म हालको चारकोशे झाडीको निरन्तरता थियो । घना जंगल र टन्टलापुर घाम लाग्ने बगर सहितको अप्ठयारो जमिनमा वि.सं. १९५० वाट फाट्टफुट्ट वस्ती शुरु भएपछि शहरको रुपरेखा कोरिएको हो । जंगल फडानीका क्रममा काठ चिर्ने आरावालहरुले काठलाई धरान (काठको माच) मा राखी चिर्दै गर्दा यस ठाउँको नाम धरान रहन गएको भनाई छ ।

१९५९ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (हालको धरान–३, पुरानो बजार) स्थापना गरे । १९९० मा अर्का प्रधानमन्त्री जुद्ध शमशेरले जुद्ध नगर (हालको धरान–५, नयाँ बजार) शुरु गरेपछि धरानले विकास तर्फ पाईला शुरु गरेको जानकारहरु बताउँछन् । ०१० मा बेलायत सरकारवाट पुर्वाञ्चलका लागि गोरखा भर्ति केन्द्र (ब्रिटिस क्याम्प) स्थापना भएपछि भने धरानले आधुनिक विकास शुरु गरेको हो । ०१७ मा धरानलाई नगरपालिका घोषणा गरी ०१८ मा कोशी अञ्चलको सदरमुकाम नै तोकिएको थियो ।

भर्ति केन्द्र स्थापना भएपछि धरानमा बेलायती उच्च अधिकारी र गोरखा सैनिकहरुको जमघट बढ्दै गयो । विदेशी संस्कार, सभ्यता र स्वभावहरुको प्रभावसँगै बेलायती पुँजीको लगानी तथा प्रयोगले आर्थिक विकास हुँदै गयो । धरान तथा आसपासका नेपाली युवाहरुलाई भर्ति गराई बेलायत सरकारको प्रयोजनका लागि अन्य विकसित देश लैजाने र केहीलाई धरानमै राख्ने प्रक्रियाले उनीहरुको कमाईले धरान नै सिञ्चित हुने अवसर पायो । ०४५ सालमा व्रिटिस क्याम्प हटेपछि भने धरान संकटमा पर्ने हो की भन्ने द्धिविधा थियो । क्याम्पले एक सुविधा सम्पन्न मेडिकल कलेजको रुपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुर्वाधार छाडेर जानु र सन् १९९४ अक्टोबर १९ का दिन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले प्रतिष्ठानको सिलान्यास गर्नुले धरानको विकास निरन्तरता भंग हुन पाएन । दक्षिण एशियाकै एक सुविधा युक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा यसले धरानकै परिचय र समाजिक विकासलाई मुखरित गरिरहेको छ ।

लाहुरेले बनाएको शहर

दशक अघिसम्म पनि धरान र लाहुरे पर्यायवाची शब्दझैँ थियो। अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर मात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डोर्यारए। ०४६ को परिवर्तनपछि नगरपालिकाले विकास निर्माणमा जनसहभागिताको नीति लिँदा लाहुरेले साथ दिए। धरानको विकासले तीव्रता पायो। चिटिक्क घर, सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान र गौरव बन्यो। नगरको कुना–कुनामा पक्की सडक बन्यो। धरान घुम्नेहरू युरोपको कुनै सहर जस्तै भन्छन्। धरानलाई समृद्ध, धनी र सभ्य मानिस बस्ने सहर भन्न थालियो।

गेसो आन्दोलन हाँकेका गजेन्द्र इस्पोका अनुसार ०३६ सालपछि बसोबास बढे पनि ०४६ सालको राजनीतिक परिवर्तनपछि लाहुरेको बसोबस धरानमा ह्वात्तै बढ्यो। ब्रिटिस सेनाबाट अवकाश पाएपछि धरानमा घडेरी किनेर घर बनाउन थाले। ०४६ देखि ०५६ सालको बीचमा धरानमा लाहुरेको सघन बसोबास भइसकेको थियो। ‘यही समय हामी विकास निर्माणमा लाग्यौं, नगरपालिकाले अघि सारेको जनसहभागिताको भिजन कार्यान्वयन गराउन साथ दियौं,’ इस्पो सम्झन्छन्।

धरानको विकाससँगै व्यापार–व्यवसाय टिक्नुमा भूपू लाहुरेको ठूलो योगदान छ। गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरान पूर्वकै आर्थिक, व्यापारिक केन्द्र बनेको थियो। धरानमा अन्य सहरको तुलनामा उद्योग, कलकारखाना स्थापना भने हुन सकेनन्। भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स) को भरमा यहाँको अर्थतन्त्र लामो समय टिक्यो। केही भूपू लाहुरे व्यापार–व्यवसायमा पनि होमिए।

धरान फेसनेवल सहरका रूपमा चिनिनुमा पनि लाहुरे परिवारकै देन छ। काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन धरानमा भित्रिन्छ भन्ने मान्यता छ। लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, ब्रुनाईमा भएकाले पनि त्यताको फेसन सिधै धरानमा भित्रिएको हो। व्यवस्थित रूपमा मासु पोलेर खाने बिबिक्यु चलन पनि लाहुरेले नै युरोपबाट भित्राएको मानिन्छ।

धरानको विकासमा तर सन् २००९ मा बेलायतले आवासीय भिसा दिने निर्णय गरेपछि धरान लाहुरेविहीन सहरमा परिणत हुँदै गएको छ। इस्पोका अनुसार करिब १० हजार घरघुरीको संख्यामा रहेका भूपू लाहुरेमध्ये अधिकांश बेलायत गइसकेका छन्। यसले धरानको व्यापार, व्यवसाय एवं अर्थतन्त्रलाई खुम्च्याइदिएको छ। ज्यादै वृद्ध र व्यवसायमा लागेका मात्रै करिब २५ प्रतिशत भूपू बेलायत गएका छैनन्।

पुर्वको पर्यटकीय केन्द्र

धरान पुर्वाञ्चलकै ‘टुरिज्म हब’को रुपमा विकास हुँदै गएको छ । अवस्थिती, प्राकृतिक सुन्दरता र वातावरण पनि यसका लागि अनुकुल छ । समुन्द्री सतहदेखि ३०५ देखि ७०० मीटर उचाईमा ओरालो सतहमा फैलिएको यसको क्षेत्रफल १३१.६५ वर्गकिमी छ । पुर्वी पहाडी जिल्लाहरुतर्फ आवतजावतका लागि यही शहर नाकाको रुपमा रहेको छ ।
समशीतोष्ण (न धेरै गर्मी न धेरै जाडो) प्रकारको हावापानीका कारण कुनैपनि बेला आउने आन्तरिक वा वाह्य पर्यटकका लागि धरान सहज छ । धरान नगरपालिकाको तथ्याँक अनुसार यहाँ १ सय १३ वटा होटल, लज तथा गेष्टहाउसहरु सञ्चालित छन् । सामान्यदेखि अत्याधुनिक सुविधासम्पन्न यी होटल लजहरुमा कुनैपनि आर्थिक हैसियत भएका पर्यटकहरु सहजताका साथ सेवा लिनसक्छन् । सवै होटल र लजहरुले लोडसेडिङको समयमा विजुली र गर्मीका समयमा पानीको वैकल्पिक व्यवस्था गरेका छन् ।     भूपू लाहुरेहरुको अधिक बसोबास रहेको धरानमा बासिन्दाको उच्च आर्थिक हैसियत र जनसहभागीतामा एकताकै कारण सरकारको विकास निर्माणको ४०ः६० को अवधारणा लागु गर्न सहज भएको धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा बताउनुहुन्छ । यसले गर्दा धरानमा आन्तरिक सडक, पार्क, चौक, शहरी व्यवस्थापन सहज भएको उहाँको भनाई छ । नगरपालिकाको तथ्याँकअनुसार ६५ किमी पक्की सडक निर्माण भईसकेको छ ।

धार्मिक पर्यटन

धरानको पर्यटकीय क्षेत्रमा सवैभन्दा बढि विकास धार्मिक पर्यटनमा भएको छ । नपाको तथ्याँक अनुसार धरानमा ५० मन्दिर, ९ गुम्बा, ३८ चर्च र १ मस्जिद रहेकाछन् । बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, शनि लगायत धरानका प्रमुख मन्दिर हुन् । बुढासुब्बा र दन्तकालीमा नियमित दैनिक जसो पुजाअर्चना गरिन्छ भने पिण्डेश्वर प्रत्येक वर्ष साउन महिनाभरिको बोलबम मेलाका लागि नेपाल र भारतमा चर्चित छ । यसैगरी बाबा विश्वकर्माको भक्तिदर्शनका लागि प्रत्येक शनिबार धरानको तीनकुनेस्थित शनि मन्दिरमा भीड लाग्ने गरेको छ । ०३२ सालमा स्थापित हिमालय महायान देछेन छ्योलिङ गुम्बा विशेषतः शेर्पा समुदायको गुम्बा हो भने ०४० सालमा स्थापित नेपाल बौद्ध गुम्बा विशेषतः तमु(गुरुङ) जातिको गुम्बा हो ।

०४६ सालमा स्थापित हिमालय महायान रिन्छेन छ्योलिङ बुद्धिष्ट गुम्बा भने तामाङ समुदायको गुम्बा हो । तीनवटै गुम्बामा नियमित पुजा पाठ हुने गरेको छ । धरानको सवैभन्दा ठुलो चर्च धरान ११ स्थित हिसप चर्च हो । ०५२ सालमा यसको स्थापना भएको हो । सबैभन्दा पुरानो चर्च भने धरान ९ को पवित्र चर्च हो जुन ०२५ मा स्थापना भएको हो । सवै सानाठुला चर्चहरुमा प्रत्येक शनिबार प्रार्थना गर्ने गरिएको छ ।

साँस्कृतिक पर्यटन

धरान आदीवासी जनजातिहरुको शहर हो । यहाँका बासिन्दामध्ये करिब ८० प्रतिशत  आदीवासी जनजाति छन् । यो समुदाय साँस्कृतिक रुपले धनी मानिन्छ । यहाँ किरात राई, लिम्बु, गुरुङ, मगर, तामाङ आदीको सघन बसोबास छ । उनीहरुका जातिय मौलिक भाषा, भेष, संस्कार, परम्परा छन् । मौलिक सन्दर्भहरु आन्तरिक वा बाह्य पर्यटकहरुका लागि चासोका विषय हुन् । विविध अवसरहरुमा जातिय समुदायहरुले मौलिक संस्कारहरुलाई सार्वजनिक गर्दै आएकाछन् भने साँस्कृतिक सौन्दर्यहरुलाई झल्काउने पर्यटकिय स्थलहरु पनि धरानमा पर्याप्त छन् । विजयपुरको पञ्चकन्या बनक्षेत्रको अन्तिम उचाईमा रहेको बुद्धिकर्ण दरबार स्थल एक हो । किरात राजा हाङ बुद्धिकर्णले अन्तिम कालमा राज्य गरेकाले यसलाई बुद्धिकर्ण दरबार भनिएको हो । धरानका किरात राई समुदाय आफ्नो महान चाड साकेला उधौली उभौली यही दरबारमा पुजा गरी शुरु गर्नेगर्दछन् ।

वडा नं. १४ मा बहुजातिय संग्रहालय निर्माणाधिन अवस्थामा रहेको छ । नेपाल आदीवासी जनजाति महासँघ सुनसरीको पहलमा निर्माण अघि बढेको हो । यसलाई आदीवासी जनजातिका ऐतिहासिक, सामाजिक, साँस्कृतिक लगायत विविध विषयवस्तु साथै बास्तुकला र खानपान झल्काउने जीवन्त संग्रहालयको रुपमा निर्माण गर्ने लक्ष्य रहेको निर्माण समिति संयोजक सुजेन्द्र गोले बताउनुहुन्छ । यो संग्रहालय निर्माण पश्चात आदीवासी जनजातिको साँस्कृतिक पहिचानका लागि अन्य ठाउँ भौतारिरहनुनपर्ने उहाँको भनाई छ । धरान १९ मा ०५३ मा स्थापित यलम्बर पार्क, धरानको तिनकुने स्थित सिरिजङ्गा शालिक परिसर, धरान १७ स्थित साकेला पार्क, धरान १७ कै सप्तरंगी पार्क, धरान १० स्थित यलम्बर स्मृति संग्रहालय लगायत पर्यटकीय स्थलहरुले धरानलाई साँस्कृतिक पर्यटकीय शहरको परिचय दिन्छन् ।

खेलकुद पर्यटन

धरान खेलकुदको राजधानीका रुपमा विकास हुँदै गएको छ । स्थानियदेखि अन्तर्रराष्ट्रिय स्तरसम्मका खेलकुद प्रतियोगीताहरु धरानमा आयोजना हुँदै आएकाछन् । विगत १५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्रराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप धरानको शानको रुपमा रहेको छ । ०५५ मा शुरु भएको यस प्रतियोगीताको पछिल्लो, १५ औँ संस्करण ०७० चैत्र ३१ गते धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न भएको थियो । प्रतियोगीतामा नेपालका ए डिभीजनका टिमदेखि भारत, भुटान, बंगलादेश लगायत देशका टिम सहभागी हुँदै आएकाछन् । यसबाहेक बक्सिङ, कराते, चेस, भलिबल, गल्फ लगायतका राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय प्रतियोगीताहरु धरानमा सम्पन्न हुँदै आएकाछन् ।

धरान १६ मा अन्तर्रराष्ट्रिय मापदण्डको रंगशाला निर्माणाधिन छ । यो बेलायती सरकारको सहयोगमा निर्माण भईरहेको हो । राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को गोलप्रोजेक्ट अन्तर्गत धरान १७ मा एन्फा टेक्निकल सेन्टर ०५७ देखि सञ्चालित छ । अन्तर्रराष्ट्रिय फुटबल प्रतियोगीता आयोजना गर्न सकिने मापदण्ड अनुसारको प्यारापिट सहितको मैदान, प्रशिक्षण हल र खेलाडी तथा प्रशिक्षक आवासका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न हुँदै आएको बुढासुब्बा गोल्डकप रंगशाला निर्माणाधिन अवस्थामा रहेकाले पछिल्लो समय यही मैदानमा आयोजना हुँदै आएको छ ।
धरान १८ मा विपी प्रतिष्ठान परिसरभित्र १८ होलको गल्फ कोर्ष रहेको छ । अन्तर्रराष्ट्रिय मापदण्डको यो कोर्ष नेपालकै ठुलो दाबी गरिएको छ । धरानमा व्रिटिस क्याम्प रहँदा निर्माण गरिएको यो कोर्षमा तत्कालिन समय बेलायती उच्च अधिकारीहरु गल्फ खेल्न आउँथे । यहाँ अन्तर्रराष्ट्रिय सूर्य ओपन गल्फ टुर्नामेन्ट र अरु प्रतियोगीताहरु नियमित आयोजना हुँदै आएकाछन् ।

शैक्षिक पर्यटन

धरानमा शैक्षिक पर्यटनका लागि पनि पुर्वाधारहरुको कमी छैन । धरानको प्राकृतिक सुन्दरता, यहाँको साँस्कृतिक मौलिकता र अन्य पर्यटकीय महत्वहरुको अवलोकन र जानकारीका लागि नेपाल र छिमेकी देशका शैक्षिक संस्थावाट बर्षेनी शैक्षिक भ्रमण हुँदै आएको छ । हात्तिसार क्याम्पसका नामले ०३० मा स्थापित केन्द्रिय प्रविधि क्याम्पस त्रिविसम्बद्ध पहिलो केन्द्रिय प्रविधि क्याम्पस हो । यहाँ खाद्य प्रविधि विषयमा एम.टेक.सम्मको अध्यापन हुँदै आएको छ । क्याम्पसले खाद्य प्रविधिका गुणस्तरिय जनशक्ति उत्पादन गर्दै आएको छ । ००८ मा धरान १४ मा स्थापित पिण्डेश्वर विद्यापिठमा संस्कृत भाषामा उत्तरमध्यमा, शास्त्री र आचार्यसम्मको अध्यापन हुने गरेको छ । संस्कृतका अलावा अंग्रेजी, नेपाली, हिन्दी, नेवारी र पछिल्लो समय लिम्बु मातृभाषामा पनि अध्यापन हुँदै आएको छ ।

बीपी प्रतिष्ठान धरानको महत्वपुर्ण शैक्षिक तथा स्वास्थ्यकेन्द्र हो । स्वास्थ्य विज्ञान विषयको स्वायत्त शैक्षिक प्रतिष्ठानको रुपमा यहाँ एम.डी., एम.बी.बी.एस., बी.एस्सी. लगायत विषय अध्यापन हुन्छ । दन्त चिकित्सा, पब्लिक हेल्थ आदी विषयमा पनि अध्यापन हुँदै आएको छ । यहाँ विभिन्न संकाय र तहमा नेपाल र विदेशका गरी वार्षिक २ हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्छन् । प्रतिष्ठानको शैक्षिक प्रगति, अनुकूलताहरुका आधारमा आगामी दिनमा चिकित्सा विज्ञान विश्वविद्यालयकै रुपमा विकास गर्ने नेपाल सरकारले योजना बनाएको छ । यता धरान १५ मा दृष्टिविहिनहरुका लागि पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय सञ्चालित छ । ब्रेललिपीको माध्यमवाट औपचारिक शिक्षा दिइने यो नेपालको एकमात्र विशेष विद्यालय हो । ०३४ मा स्थापित यस विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुन्छ । नेपालको २२ जिल्लाका ८५ दृष्टिविहीन विद्यार्थी यहाँ अध्ययनरत छन् । धरान ८ मा रहेको ०३५ सालमा स्थापित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ओभरसियरमा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, रेफ्रिजिरेशन एण्ड एयरकण्डिसन, मेकानिकल र ब्याचलरमा सिभिल र कृषि इन्जिनियरिङ अध्यापन हुन्छ । धरान १० मा अवस्थित ०१२ मा स्थापित महेन्द्र बहुमुखी क्याम्पस धरानको पहिलो क्याम्पस हो । पुर्वी पहाडी जिल्लाको शैक्षिक केन्द्रका रुपमा रहेको यस क्याम्पसमा वार्षिक ३ हजार विद्यार्थी अध्ययन गर्छन् । यसका लागि भारत सरकारको सहयोगमा नयाँ आधुनिक भवन निर्माण गरिएको छ । धरान ४ छाताचौकमा ००४ सालदेखि सार्वजनिक विद्याभवन नामक पुस्तकालय सञ्चालित छ । ०२६ सालदेखि धरान नगरपालिकाले सरकारी निकायकै रुपमा सञ्चालन गरिरहेको यस पुस्तकालयमा नेपाली, हिन्दी, अंग्रेजी लगायत भाषाका ३ हजार ५ सय ८३ थान पुस्तक र ५८ पत्रपत्रिका उपलब्ध छन् ।

पर्यावरणीय पर्यटन

भानुचौक धरानको मुटु हो । यसको केन्द्रभागमा निर्मित धरान घण्टाघरले धरानको स्पष्ट परिचय दिएको छ । धरान हङकङ मञ्चको सहयोगमा निर्मित घण्टाघरमाथि चढेर धरान वरपरको दृश्यावलोकन गर्न सकिन्छ । ०४५ सालमा गएको महाभूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा पार्क परिसरमा भूकम्प स्मारक निर्माण गरिएको छ । धरान १४ विजयपुरदेखि उत्तरको जंगलक्षेत्रमा सञ्चालित पञ्चकन्या रिसोर्ट छुट्टै विशेषता भएको रिसोर्ट हो । यहाँवाट धरानको प्रायः सवै भाग अवलोकन गर्न सकिन्छ । खेलमैदानको व्यवस्था रहेको रिसोर्टमा जंगली जनावर र पंक्षीहरुको मिनी चिडियाखाना समेत छ । धरान १३ का व्रिटिस वेल्फेयर कार्यालय, भारतिय पेन्सन वितरण कार्यालय, धरान ८ का धरान सभागृह, बुद्ध विहार, धरान औद्योगिक क्षेत्र, धरान रिक्रियशन सेन्टर स्विमिङ पुल लगायत स्थलहरुले धरानको पर्यटकिय विकासमा टेवा दिएकाछन् । धरान १९ का यलम्बर पार्क र हरियाली पार्क रमाइला पिकनिक स्थल हुन् ।

धरानदेखि उत्तरतर्फ १८ किमीको दुरिमा भेडेटार अवस्थित छ । भेडेटारको उच्च भागमा चाल्र्स पोइन्ट छ जहाँ भ्यू टावर निर्माण गरिएको छ । यहाँवाट धरान लगायत पुर्वी पहाडी जिल्लाका धेरैजसो जिल्लाको अवलोकन गर्न सकिन्छ । ०४० सालमा नेपाल भ्रमणमा आएका बेलायती राजकुमार चाल्र्स एडिनबराले आरोहण गरेपछि यो भागको नाम चाल्र्स पोइन्ट राखिएको हो । धरानवाट ८ किमी उत्तरपुर्वतर्फ पैदल हिँडेपछि सेउती खोलाको उद्गम स्थल शिवजट्टा पुगीन्छ । धार्मिक रुपमा यो ठाउँलाई शिवगंगा र भारतको गंगाको उद्गमस्थल गंगोत्री मानिन्छ । यहाँ आकर्षक छाँगा र छहराहरु छन् । धरानवाट पश्चिमतर्फ २ घण्टाको सवारीपछि कोशी टप्पु वन्यजन्तु आरक्षक्षेत्र पुगीन्छ । नेपालकै प्रमुख जैविक विविधतायुक्त रामसार तथा पर्यटकिय क्षेत्र घोषित यस क्षेत्र अर्नाको स्वतन्त्र विचरणका लागि विश्वप्रसिद्ध छ । २ सय ८० प्रजातिका चरा पाइने यस क्षेत्रलाई ‘चराहरुको स्वर्ग, अर्नाको राजधानी’ भनिन्छ ।

नेपालकै सवभन्दा लामो नदी सप्तकोशी धरानवाट करिब २० किमी पश्चिमवाट वग्छ । विदेशी पर्यटकका लागि यो र्याफ्टीङको गन्तव्य हो । सप्तकोशी अन्तर्गत त्रिवेणी हुँदै दोलालघाटसम्म जलयात्रा गर्न सकिन्छ । यसका लागि निजी क्षेत्रले समेत व्यवसायिक र्याफ्टीङको शुरुवात गरेको छ । धरानवाट करिब २५ किमी पश्चिममा नेपालकै प्रमुख धार्मिकस्थलमध्ये एक बराहक्षेत्र अवस्थित छ । हिन्दुधर्मशास्त्र अनुसारका प्रमुख चारधाम मध्ये नेपालमा पर्ने दुई तीर्थस्थल मुक्तिनाथ र बराहक्षेत्र हुन् । यहाँ २ देखि ३ हजार वर्ष पुराना प्रस्तर र ढुंगाका मूर्तिहरु रहेको पुरातत्व विभागको तथ्य छ । धरानवाट ४ किमी पश्चिमोत्तरतर्फ विष्णुपादुकाधाम छ । धाममा भगवान विष्णुले लक्ष्मीसहित पहिलोपटक दिव्यपितृहरुको श्राद्ध गरेको ब्रम्हपुराणमा उल्लेख छ । मन्दिरमा ढुंगामाथि मानव पाइला(पादुका)को छाप छ, जसलाई भगवान विष्णुको पादछाप मानिन्छ ।

धामदेखि ५ किमी उत्तरतर्फ माछामारामा व्रिटिस गोर्खास्मृति पार्क निर्मित छ । पार्कमा भिसी पदक विजेता १३ जना बहादुर गोर्खालीहरुको नाममा होलिडे हट निर्माण गरिएको छ । १२ विघामा फैलिएको पार्कवाट प्राकृतिक दृश्यावलोकन गर्दा स्वर्गीय अनुभूति हुन्छ । निर्माणकै क्रममा रहेको पार्कमा गोर्खा पल्टनहरुको इतिहास सहितको शिलास्तम्भ र सेमिनारहल सहितको गोर्खा संग्रहालय निर्माणाधिन छ । धरानवाट ३२ किमी पश्चिमदक्षिणतर्फ रामधुनी मन्दिर अवस्थित छ । भगवान राम शिकार खेल्दै यहाँ आइपुग्दा रात परेपछि धुनी बालेर बसेकाले यस जंगलक्षेत्रलाई रामधुनी भनिएको भनाई छ । यहाँ सिंगो रुखको अखण्ड रामधुनी वर्षौँदेखि बालिँदै आइएको छ । धरानवाट करिब १६ किमी पश्चिम चतरामा निर्मित कुम्भ स्तम्भको ०६७ मा राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । ५९ फिट अग्लो यो स्तम्भ नेपालमा पहिलोपटक ०५९ मा सम्पन्न कुम्भमेलाको स्मृतिमा निर्माण गरिएको हो ।dharan ghantaghar pic at night

(श्राेत : केछ खबर डट कम र नागरिक दैनिकमा प्रकाशित श्रीशीशा राई र रोहित राईबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close