सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

नाट्टाको ५२ औं वार्षिक साधारणसभा र निर्वाचन हुँदै

यस्ता छन् दुइटै समुहका चुनावी प्रतिबदता

  • शिखरपोष्ट रिपोर्टर 

12438972_10153490969907987_2571670565341285377_nकाठमाडौं, २८ पुस । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२ औं वार्षिक साधारण सभा र निर्वाचन आज शुक्रबार होटल सोल्टीमा हुदैछ । आज नयाँ नेत्रित्व चयनका लागि निर्वाचन पनि हुन लागेकोले होटल सोल्टी रौनकमय देखिन्छ । नयाँ नेतृत्वका लागि नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सि.एन.पाण्डे र दितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा) प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

पाण्डेको प्यानलबाट प्रथम उपाध्यक्षमा अच्युत गुरागाईं, द्वितिय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा रमेश थापा, सचिवमा हरिभक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भट्टराई तथा सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणि थपलिया, फुरी गेल्जेन शेर्पा, रमेश पौड्याल, रोमस श्रेष्ठ, राजु ढकाल र इनु थापा चुनावी प्रतिस्पर्धामा छन् भने शर्माको प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा संगीता जिरेल बादे, महासचिवमा विनय बस्नेत, सचिवमा सविता भट्टराई (के.सि.), कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ, सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, सन्तोष कुमार श्रेष्ठ, बेन्जु श्रेष्ठ मुखिया, डोल प्रसाद अर्याल (हरि) रघुनाथ पंजियार, गीता ढकाल र विनोद कार्की चुनावी मैदानमा उत्रिएका छन् ।

प्यानलले छुट्टाछुट्टै घोषणापत्र सार्वजनिक गर्दै नाट्टाको सङ्स्थागत सम्बृद्धिसँगै मुलुकको पर्यटन प्रवर्धन र बिकासमा भूमिका खेल्ने दाबी गरेका छन् । जम्मा ४६७ मतदाता रहेको नाट्टाको निर्वाचन कार्यतालिकालाई आधार मान्दा आजै मत परिणाम सार्वजनिक हुने देखिन्छ ।

यस्ता छन् दुइटै समुहका चुनावी प्रतिबदता

  •  सिएन पाण्डे, अध्यक्षका प्रत्याशी

अग्रज व्यवसायी र आम टुर तथा ट्राभल व्यवसायीको चाहनाबमोजिम नाट्टामा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको थियो । तर, अन्तिम समयमा आएर हाम्रो उक्त प्रयास सफल हुन सकेन । त्यसकारण अब व्यवसाय र व्यवसायीको अधिकतम हितमा काम गर्ने प्रतिबद्धतासहित हामी चुनावमा होमिएका छौँ । यसबीचमा हामीले नाट्टाको दायित्वबमोजिम अतर्राष्ट्रिय बजारीकरणको कामलाई उच्च प्राथमिकता दिएर बढीभन्दा बढी पर्यटक भित्राउने वातावरण तयार पार्नेछौँ ।

नाट्टाको सचिवालयलाई अत्याधुनिक बनाउनुका साथै मुलुकभित्र पर्यटनमैत्री वातावरणको पहल हुनेछ । व्यवसायमा लामो समयदेखिको अनुभवस्वरूप सरकारी निकायसँग हाम्रो सहज पहुँच स्थापित भएको छ । त्यसका माध्यमबाट अस्पष्ट नीति–नियममा परिमार्जन, आइएटिए, बिएसपी, जिडिएसजस्ता प्रक्रियामा रहेका समस्या समाधान गरी व्यवसायीलाई सहजीकरण गरिनेछ । संघीयता कार्यान्वयनका सिलसिलामा नाट्टालाई पनि संघीय स्वरूपमा परिमार्जन गर्ने काम यस अवधिमा हुन्छ । हिमालयन ट्राभल मार्टलाई निरन्तरता दिँदै यसमा व्यवसायीको सहज पहुँचको व्यवस्था हुनेछ ।

भूकम्पबाट क्षति पुगेका पर्यटकीय सम्पदाको पुनर्निर्माणमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने र पर्यटन व्यवसायीहरूको साझा संस्थाका रूपमा रहेको नाट्टालाई नेपाल सरकारको पर्यटन तथा ट्राभल सल्लाहकारका रूपमा स्थापित गराउने प्रयास हाम्रो हुनेछ । पर्यटक बस टर्मिनल निर्माणलाई प्राथमिकता दिँदै काठमाडौंलगायत देशका प्रमुख पर्यटकीय सहरमा सरकारसँग समन्वय गरी टर्मिनल निर्माणको कार्य अगाडि बढाउने योजना छ । नेपाललाई गुणस्तरीय पर्यटकीय गन्तव्यका रूपमा ब्रान्डिङ गर्नुका साथै अस्वस्थ प्रतिस्पर्धालाई हटाउने हाम्रो प्रतिबद्धता छ ।

देशका पूर्वाधारहरू पर्यटकमैत्री हुनुपर्छ । त्यसका लागि सरकारलाई आवश्यक सुझाब दिने तथा निर्माणाधीन हवाई पूर्वाधारमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु आवश्यक छ । अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायी र पर्यटकले भोग्नुपरेका समस्याको सूक्ष्म अध्ययन गरी यात्रा सहजीकरणका लागि पहल गरिनेछ । आउटबाउन्ड तथा इनबाउन्ड टुरमा देखिएका मूल्य अभिवृद्धि करलगायत अन्य शुल्कका विषयमा अपष्ट रहेका विषयलाई पनि सरोकारवाला निकायसँगको समन्वयमा समाधान गरिनेछ । राष्ट्रिय ध्वजाबाहक वायुसेवाको आक्रामक बजार विस्तारका लागि प्रेरित गर्नुका साथै आन्तरिक हवाई पर्यटनमा देखिएका समस्या समाधानका लागि पनि पहल गर्ने योजना छ । नाट्टा विशुद्ध व्यावसायिक संगठन हो । यहाँ राजनीति हुँदैन । हाम्रो पहल पूर्ण रूपमा व्यावसायिक वातावरण निर्माणतर्फ मात्र हुनेछ ।

 

  • दिपेन्द्र कुमार घिमिरे, अध्यक्षका प्रत्याशी

यसपटक गैरराजनीतिक प्यानलका रूपमा हाम्रो समूह निर्वाचनमा होमिएको छ । आजको दिनमा राजनीतिबाट कोही पनि अलग रहन सक्दैन । तर, नाट्टाजस्तो विशुद्ध व्यावसायिक संगठनमा राजनीतिक दल र नेता होइन, व्यवसायी नै सक्रिय हुनुपर्छ । त्यसकारण हाम्रो पहिलो एजेन्डा नाट्टाको पूर्ण व्यावसायिक छविलाई स्थापित गराउनु हुनेछ । संस्थालाई विधिसम्मत रूपमा अगाडि बढाउनुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ ।

नाट्टाको नयाँ भवन निर्माणको योजनालाई यस कार्यकालमा कार्यान्वयन गर्ने प्र्रतिबद्धता हाम्रो छ । मध्यपूर्वी क्षेत्रबाट हुने एडिएम डिर्पोटीका कारण टिकेटिङ एजेन्टमाथि आर्थिक भार परिरहेको छ । यो भार टिकेटिङ एजेन्टमार्फत नभई एयरलाइन्सले नै बहन गर्नुपर्छ । पर्यटन विभागबाट खारेजीमा परेका इजाजतपत्रलाई नवीकरणको पहल गर्ने प्रतिबद्धता पनि हामीले गरेका छौँ ।

पर्यटक यातायात व्यवसायीसँग समन्वय गरी यस क्षेत्रमा रहेका समस्या समाधानको पहल हुनेछ । ट्राभल, टुर तथा करसम्बन्धी समस्या समाधान गर्न सरोकारवाला संघ–संस्था सम्मिलित कार्यदल बनाएर समाधानको प्रयास यस अवधिमा हुनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्याकेजमा लाग्ने विभिन्न प्रकारका करको सहुलियतका लागि पहल हामी गर्नेछौँ । आइएटिएसँग सम्बन्धित समस्यालाई समाधान गरी नेपाली कम्पनीहरूलाई सहजीकरण गर्ने योजना छ ।

पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीचको आपसी समन्वयलाई उच्च प्राथमिकता दिँदै साझा एजेन्डामा सहकार्य गर्ने कार्यमा जोड दिनेछौँ । पर्यटन उद्योगलाई राज्यको प्राथमिकताप्राप्त उद्योगका रूपमा मान्यता दिलाउन सरोकारवाला अन्य निकाय नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पर्यटन विभागजस्ता निकायसँग सहकार्य हुनेछ ।

नाट्टाको नयाँ भवन निर्माणको काम एकातिर रहनेछ भने अर्कोतर्फ नाट्टाको सचिवालयलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन सुधारका काम हुनेछन् । आर्थिक मितव्ययिता काम राख्दै नाट्टाको कोषलाई सबल बनाउन आर्थिक विनियमावली जारी हुनेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाबीचको सम्बन्धलाई बढाउने र हरेक वर्ष कम्तीमा ४ वटा अन्तर्राष्ट्रियस्तरका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता पनि हामीले व्यक्त गरिसकेका छौँ । व्यावसायिक हकहितभन्दा बाहिर गएर हामीले कुनै पनि दल विशेषलाई रिझाउनु छैन । त्यसकारण हाम्रो प्राथमिकता विशुद्ध व्यावसायिक वातावरण निर्माणका लागि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*