'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

‘सगरमाथाको टुप्पोमा पुगेपछि एक कप चिया खान्छौं र सन्तुष्ट भएर फर्कन्छौं’

41981

548ffe98-b752-3c58-942d-2fad6a183020_1523423172काठमाडौं, २८ चैत । हुन त गिनिज बुक अरूका लागि आकाशको तारा भएकैले चम्किएको होला । तर, लाक्पा शेर्पाका लागि भने कसैले कीर्तिमान राख्नु र तोड्नुको खासै अर्थ छैन । उनलाई त खाली अर्थ छ आफ्नो परिश्रमको, अनि त्यसबाट प्राप्त हुने सन्तुष्टिको ।

सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने महिलाको पहिचान आफ्नो पोल्टामा राखेकी लाक्पा शेर्पा अमेरिकाबाट नेपाल आउँदै छिन् भन्ने खबर पाएको एक हप्ता भइसकेको थियो । बल्लतल्ल उनका भाइ, आरोही मिङ्माको मध्यस्थतामा उनलाई भेट्न पाउँदा चौपट्ट उत्साह थियो ।

घण्टी बजेपछि ढोका खुल्छ । ‘हामी लाक्पा दिदीलाई भेट्न आएको’ भन्ने आग्रहको उत्तर ‘हुन्छ, दिदी यही हुनुहुन्छ’ भन्ने वाक्यसँगै चोरी औँलाको सङ्केतले दिन्छ ।

लाग्छ, माइती आएकी चेली मातृभूमिको काखमा रमाएकी छिन् । उनी नितान्त फुर्सदमा छिन् । घाँसे बगैंचामा चकटी ओछ्याएर आफ्ना लामा कपाल कोर्दै छिन् । बिहान १० बजेको पारिलो घाम त्यत्तिकै पनि प्यारो छ । अझ प्यारा छन् (उनका भाइभतिजाका) बालबच्चा, जोसँग खेल्न पाउँदा उनी मख्ख छिन् ।

स्वागत सत्कारमा पनि कुनै तडकभडक छैन । ‘कता कुरा गर्ने दिदी’ भनेर सोध्दा पनि उनलाई केही असहज महसुस भएको छैन । माइती आएकी चेलीलाई भेट्न बालसखा आए झै सामान्य तर, न्यानो स्वागत गर्छिन् ।

अँ, कुरा नगरी मान्छे नचिनिने रहेछ । कुरा गर्दै जाँदा मात्र थाहा हुने रहेछ सगरमाथा चढ्नु भनेको के रहेछ, विश्व कीर्तिमान कायम गर्नु र तोड्नु भनेको के रहेछ । हो, सुरुमा देख्दा अति सामान्य देखिने लाक्पा दिदीले बताउनेछिन् असामान्य वीरताका कथाहरू ।

युद्ध मैदानमा पहिलो पाइला

पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित मकालु हिमालको फेदीमा आफ्ना आमाबाका ११ जना सन्तानमध्ये करिब बीचतिर जन्मिएकी लाक्पाको महात्वाकाङ्क्षा खासै केही थिएन । पछि आफ्ना दाजुभाइ र गाउँलेको सङ्गतमा उनी पर्वतारोहीका भारी बोकिदिने, बाटो देखाइदिने काम गर्न थालिन् । युवा उमेरमा ससाना हिमालको टुप्पैसम्म पुगिन् । करिब २५ वर्षको उमेरमा पुग्दा भने उनमा विश्वको शिरमा आफ्नो पाउ राख्ने अठोट पलायो ।

हिमाल चढ्नु भनेको युद्ध गर्नुजस्तै नै हो । कहिले हामी जित्छौं, कहिले उसले जित्छ । तर, हारिन्छ भनेर, मरिन्छ भनेर एउटा सिपाहीले युद्ध मैदानबाट भाग्न मिल्छ र ?

‘पासाङ् (ल्हामु शेर्पा) दिदीले सगरमाथा चढेको थेरै वर्ष भइसकेको थियो । तर, उहाँ पनि फर्केर आउन त सक्नुभएन,’ उनी सुनाउँछिन्, ‘सायद् उनको निधनले होला हामी अरू महिलाहरू पनि डराएरै बसेका थियौं । तर अब त डराएर भएन नि भन्ने मलाई लाग्यो ।’

तर, सगरमाथा चढ्नु भनेको रहरको कुरा मात्र होइन । सरकारलाई मोटो रकम राजस्व बुझाउनुपर्छ । आवश्यक यन्त्रउपकरण, लुगाफाटा, जुत्ता, लठ्ठी, खानपिन, औषधि उपचार सबैको जोहो गर्नुपर्छ । ठूला व्यापारी र उद्यमीले चन्दा नदिई एउटी शेर्पा महिलाको रहर पूरा हुने अवस्था हुन्न । उनले विगत सम्झिइन्, ‘मैले सुरुमा स्पोन्सर नै पाइनँ । महिलाले सगरमाथा चढ्ने भन्दा कसैले नि पत्याएनन् ।’

अर्कातर्फ, आरोहण आफैंमा जीवनमरणको सवाल हो । एक ठाउँमा पाइला टेक्दा बच्ने जीवन त्यसभन्दा केही इन्च दायाँबायाँ टेक्यो भने तत्क्षण बिलाउन सक्छ । घरपरिवारलाई सम्झाइबुझाइ गर्न पनि कम्ता गाह्रो भएन ।

शेर्पा लवजमा नेपाली र अङ्ग्रेजी शब्द करिब-करिब बराबरी प्रयोग गर्ने लाक्पा दिदीका कतिपय वाक्यहरू बुझिदैँनन् । तर, उनले जोसिएर भनेको यो वाक्य स्पष्ट छ, ‘हिमाल चढ्नु भनेको युद्ध गर्नुजस्तै नै हो । कहिले हामी जित्छौं, कहिले उसले जित्छ । तर, हारिन्छ भनेर, मरिन्छ भनेर एउटा सिपाहीले युद्ध मैदानबाट भाग्न मिल्छ र ?’

चासो नहुँदै कमाइएका कीर्तिमान

त्यसैले त यो वसन्तमा पनि लाक्पा सगरमाथा चढ्दै छिन् । सन् २००० मा पहिलो पटक विश्वको शिखर चुमेकी उनको यो नवौं यात्रा हुनेछ । सगरमाथा चढ्न भनेर आधार शिविर पुग्ने सबै आरोही शिखरमा पुग्न सक्दैनन् । तर, लाक्पाले भने आजसम्म खालि हात फर्कनुपरेको छैन । प्रायजसो फर्केर आउँदा उनको हातमा आरोहणको प्रमाण पत्र मात्र नभएर अन्य केही पहिचान पनि आइपुगेकै हुन्छ ।

जस्तो कि सन् २००० को सफल आरोहणमा उनले राष्ट्रिय कीर्तिमान बनाइन्, सगरमाथाको आरोहणपछि जीवित फर्कने पहिलो नेपाली महिला बनेर । सन् २००३ मा उनको कीर्तिमान अन्तर्राष्ट्रिय स्तरमा पुग्यो, जब उनी तेस्रो पटक सगरमाथा चढिन् र सबभन्दा बढी सगरमाथा चढ्ने महिला बनिन् । त्यसपछि हरेक वर्ष सगरमाथा चढेकाले सन् २००६ सम्म उनको कीर्तिमान कसैले तोडेन ।

व्यक्तिगत र पारिवारिक कारणले लाक्पाले सन् २००६ देखि २०१६ सम्म आरोहणबाट विश्राम लिइन् । तर, यसबीचमा पनि छैटौं पटक सगरमाथा चढ्ने महिला कोही निस्किएन । त्यसैले अब उनलाई गिनिज बुकमा लेखिएको विश्व कीर्तिमानबारे त्यति धेरै चासो छैन, यो ‘टेकन फर ग्रान्टेड’ भएको छ ।

‘आई डन्ट केयर एट अल । जसले मेरो कीर्तिमान तोडोस् मतलब छैन मलाई । मैले गरेको मेहनतको प्रतिफल मैले पाएँ । अरू कसैले मेहनत गर्दा त अरूले पनि त्यस्तै सम्मान पाउनुपर्‍यो नि’ उनी भन्छिन्, ‘म जहिलेसम्म सक्छु वा जहिलेसम्म मलाई मन लाग्छ म सगरमाथा चढिरहन्छु ।’

गिनिज बुकका लागि होइन, आफ्नै खुसीका लागि । मलाई मन लाग्यो भने म यसै वर्ष विश्राम लिन पनि सक्छु ।’

अर्थात्, उनलाई अब गिनिज बुकको कुनै मोह छैन । यद्यपि, आफ्नो मेहनतको कुरा संसारसामु फैलाउने माध्यमका रूपमा यसको महत्व बुझेकी छिन् उनले ।

लाक्पाले केही अन्तर्राष्ट्रिय मिडियालाई आफू कम्तीमा पनि १० पटक सगरमाथा चढ्ने बताइसकेकी छिन् । त्यसैले अब कम्तीमा दुई वर्षका लागि भने उनी नैतिक दबावमा हुनेछिन् । ‘अँ, १० पटक त चढिन्छ । फर स्योर ।’

नवौं आरोहण

गत वर्षजस्तै लाक्पा यस पालि पनि तिब्बती मोहडाबाट सगरमाथा चढ्ने तयारीमा छिन् । हालसम्मका आठ आरोहणमध्ये उनी एक पटक मात्र नेपालतिरबाट गएकी छिन् । यसका खास दुई कारण छन् । पहिलोः तिब्बती रुट नेपालतिरको भन्दा अझ गाह्रो छ । त्यसैले यो मार्ग पछ्याउँदा उनलाई आफू अझ धेरै साहसी भएको महसुस हुन्छ । दोस्रोः उनको भाइ मिङ्माको कम्पनी सेभेन समिट्स क्लबले तिब्बती मार्गतिरबाट आरोहण गराउने गरेको छ ।

अब उनलाई सगरमाथा चढ्न पहिलेजस्तो डर लाग्दैन । ‘अब त खुट्टा कहाँ राख्दा अडिन्छ, कहाँ राख्दा चिप्लिन्छ सबै थाहा छ’ लाक्पाको अनुहारमा अनुभवी आरोहीको मुस्कान देखिन्छ, ‘हामीसँगै जाने विदेशीहरूलाई पनि कसरी आफूलाई बचाउने भन्ने कुरा हामी बारम्बार सिकाउँछौं ।’

खास सगरमाथाको टुप्पामा छ चाँहि के ? त्यहाँ पुगेपछि आरोहीले के गर्छन् ? कति समय बिताउँछन् ? नेपाली र विदेशी सबैमा यस्ता जिज्ञासा प्रशस्तै भेटिन्छन् ।

‘तपाईँ हाइकिङ् गरेर कुनै डाँडामा पुगेजस्तै हो । त्यहाँबाट तलतिरको दृश्य हेर्छौं । फोटो खिचाउँछौं । मौसम राम्रो भयो भने एक-दुई कप चिया खान पनि भ्याउँछौं । अनि सन्तुष्ट भएर फर्कन्छौं ।’

उनका अनुसार सामान्यतया एउटा आरोहीले शिखरमा १० देखि २० मिनेट बिताउँछ । बिहान छदेखि सात बजेतिर शिखरमा पुग्नु राम्रो हुन्छ र १० बजेभित्रै तल झर्न थालिसक्नुपर्छ । दिउँसो एकातिर हावा चल्छ भने अर्कातिर हिउँ पग्लन थाल्छ ।

आगामी हप्ता उनी ल्हासा जानेछिन् । अनि सगरमाथा चुमेपछि मेमा काठमाडौं फर्किनेछिन् ।

गुनासोको पोको

हुन त नेपाली जनता र सरकारका लागि कसैले सगरमाथा आरोहण गर्नु त्यति महत्वको विषय होइन । सायद् नजिकको तीर्थ भएकाले पनि होला ।

संयुक्त राज्य अमेरिकाका नागरिक रहेका एक पर्वतारोहीसँग विवाह भएदेखि नै शेर्पा उतै बस्छिन् । सन् २००४ मा आइपुग्दा उनको वैवाहिक सम्बन्धमा समस्या देखियो । करिब १२ वर्ष मुद्दा लडेपछि उनी आफ्ना पतिसँग सम्बन्ध विच्छेद गर्न सफल भएकी छिन् । तर ,पनि दुई जना छोरीहरूको अध्ययन र भविष्यका खातिर उनी अझै पनि अमेरिकाकै कनेटिकेट राज्यमा बस्छिन् ।

यो वर्ष सगरमाथा चढ्न आउनु अगाडि उनलाई राज्य सरकारले शुभकामना स्वरूप सम्मान अर्पण गरेको छ ।

सुनौलो छाप भएको प्रमाण पत्र देखाउँदा उनी जति मख्ख छिन्, आफ्नो (नेपाल) सरकारले भने आफूजस्ता आरोहीलाई कुनै भाउ नदिएको भनेर उनको गुनासो छ ।

‘म त माइती आएकी चेली पो हुँ त । म जहाँ बसे पनि नेपाल मेरै घर हो । नेपाली चलन अनुसार माइती आउने चेलीबेटीलाई दक्षिणा दिएर स्वागत र बिदाइ गर्नुपर्छ’ उनको गुनासो छ, ‘तर, अहँ । हाम्रो सरकारलाई कुनै मतलब नै छैन ।’

‘मलाई मेरा प्रायोजक र विभिन्न देशका पत्रकारले सोध्छन्, तिमी भने आफूलाई नेपाली चेलीका रूपमा उभ्याएर विश्व कीर्तिमान राख्न यति मेहनत गरिराख्छौं, तिम्रो सरकारले चाँहि किन तिम्रो वास्ता गर्दैन,’ उनी सुनाउँछिन्, ‘अब मैले तिनलाई के भन्नु ? आई जस्ट डन्ट नो !’

तर, सरकारसँग जति असन्तुष्टि भए पनि आफूले नेपाली नागरिकता भने नत्याग्ने कुरामा उनी स्पष्ट छिन् । ‘मैले आजसम्म जेजे गरेँ, नेपालकै लागि गरेँ । अब जे गर्छु आफ्नै देशका लागि गर्छु ।’

छोरीहरू भने उतै जन्मिएकाले उनीहरूले अमेरिकी नागरिकता पाउने निश्चित भइसकेको छ । १६ वर्षकी जेठी छोरीले आरोहणमा खासै चासो नदेखाएपछि ११ वर्षकी कान्छी छोरी ‘मामा, आई विल अल्सो क्लाइम्ब एभरेस्ट वान डे’ भन्छिन् ।

लाक्पा हाल ४४ वर्ष भइन् । अब केही वर्षपछि उनको शरीरले उनको चाहनालाई वास्ता गर्ने छैन । शारीरिक सामर्थ्यको वक्र रेखा ओरालो लाग्न थाल्नेछ । अर्कातर्फ ११ वर्षकी छोरी विस्तारै किशोरी र युवती हुनेछिन् । त्यसैले सायद् उनीमाथि अब आफ्नो जिम्मेवारी आगामी पुस्तालाई हस्तान्तरण गर्ने दायित्व छ ।

कुराकानी टुङ्ग्याउन लाग्दा उनी भन्छिन्, ‘ढुक्क हुनुस् । छोरी ठुली भएपछि उसलाई सगरमाथा पुर्‍याउने जिम्मेवारी मेरो भो ।’

sourse by onlinekhabar

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*