जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा

42216

times_chek_postम्याग्दी । अधिकांश भारतीय पर्यटक पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्ड (टिम्स) नलिई अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश गर्ने गरेका छन् । गाडीमा आउने भारतीय पर्यटकले टिम्सविना प्रवेश गर्ने र त्यसबाट सरकारले करोडौं राजस्व गुमाउनुपरेको छ ।

नेपाल जेंग ट्रेक्स एन्ड एक्सपिडिसनबाट अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश अनुमति लिएका ३० भारतीय पर्यटक ७ वटा गाडीमा मुस्ताङ प्रस्थान गर्दै थिए । बुधबार म्याग्दीको तातोपानीस्थित चेकपोस्टमा अनुगमनका क्रममा उनीहरूलाई टिम्सविहीन अवस्थामा फेला पारेको हो । भारतीय पर्यटकले आफूहरू पोखराको स्टे पोखरा होटलमा बसेको र होटलले नै टिकट ल्याइदिएकाले अनविज्ञ रहेको बताए । यसले मिलेमतोको शंका बढाएको छ । एक्याप प्रवेशाज्ञा र टिम्स कार्डको तुलना गर्दा ३० हजार पर्यटकले टिम्स कार्ड नलिई प्रवेश गरेको देखिएको पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए । थपलियाको दाबीलाई आधार मान्दा एक वर्षमा टिम्समार्फत उठ्नुपर्ने ३ करोड राजस्व गुमेको छ ।

टिम्स छल्नेको लेखाजोखा छैन
नेपाल पर्यटन बोर्डले जारी गर्ने टिम्स कार्डको अन्नपूर्ण संरक्षण क्षेत्र, म्याग्दीको तातोपानीमा अन्तिम चेकजाँच हुने गरेको छ । त्यो मार्ग भएर गाडी तथा पैदलबाट अहिले १ हजारसम्म पर्यटक आवतजावत गर्छन् । तिनीहरूलाई चेकजाँच गर्न टानले जम्मा २ जना कर्मचारी खटाएको छ । २ मध्ये प्राय १ जना कार्यस्थलमा खटिन्छन् । ‘भारतीय पर्यटक बोकेका गाडी हुइँकिन्छन्, पर्यटकको भिड लाग्छ, मात्र दुईजना छौँ, हामीले हेर्नै भ्याउँदैनौँ, त्यही पनि भ्याएसम्म हेरेकै छौँ,’ तातोपानी चेकपोस्टका कर्मचारी श्याम परियारले बताए ।

उनले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म काउन्टर खोलिने भए पनि त्यसपछि भारतीय पर्यटक बोकेका सवारीसाधन लाइन लाएर जाने गरेको बताए । कतिपय अन्य देशका पर्यटकलाई पनि त्यसरी प्रवेश गराउने गरेको स्रोतको दाबी छ । त्यसरी जाने अधिकांशलाई ट्रेकिङ एजेन्सीले नै पठाउने गरेका छन् ।

यस्तो छ प्रावधान
वि. स. ०६६ देखि अन्नपूर्ण, लाङटाङ र सगरमाथा आधार क्षेत्रमा पदयात्रामा जाने पर्यटकले टिम्स कार्ड अनिवार्य किन्नुपर्छ । सरकारले पदयात्रामा जाने विदेशी समूहमा जाने पर्यटकलाई १ र व्यक्तिगत २ हजार रुपैयाँमा टिम्सकार्ड उपलब्ध गराउँदै आएको छ । भारत र सार्क राष्ट्रका पर्यटकका लागि भने एक्लै जाँदा ६ सय र समूहमा जाँदा ३ सयका दरले टानले टिम्सकार्ड उपलब्ध गराउँदै आएको छ । टिम्स कार्डको बिक्रीबाट संकलित रकम बोर्ड र टानले समझदारीमा खर्च गर्नुपर्छ । संकलित रकममध्ये ३० प्रतिशतमा बोर्डको अनि ३० प्रतिशतमा टानको भागमा पर्छ भने बाँकी ४० प्रतिशतमध्ये ३० प्रतिशत यी दुवै संस्थाले संयुक्त रूपमा पर्यटकीय विकासमा खर्च गर्नुपर्छ । १० प्रतिशत मजदुर कल्याणकारी कोषको हितमा खर्च गर्नुपर्ने प्रावधान छ ।

एक्याप प्रवेशाज्ञा व्यवस्थित, टिम्स भद्रगोल
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) प्रवेशाज्ञा कम्प्युटरबाट प्रिन्ट गरेर दिइन्छ । तर, टिम्स कार्डमा हातले लेखिन्छ । ट्रेकिङ एजेन्सीहरूले एक्यापको प्रवेशाज्ञा लिन पोखरामा टिम्स कार्ड उपलब्ध हुने नजिकैको काउन्टरबाट समय मिलाउन सक्छन् । तर, टिम्सकार्ड भर्नसमेत नभ्याएको भन्दै पेपरमा नम्बर उल्लेख गरेर छाप लगाइदिने गरेको पाइएको छ । टिम्सकार्ड भर्दा पर्यटकको तस्बिर टाँस्ने र पुग्ने स्थान पनि लेखिन्छ । घुम्ने पर्यटकको सबै जानकारी कार्डमा उल्लेख हुन्छ । यसो गर्नु पनि टिम्स छलीको अर्कौ प्रमाण भएको जानकार बताउँछन् ।

धार्मिक पर्यटकलाई पनि टिम्स
म्याग्दीस्थित तातोपानी चेकपोस्टका कर्मचारी श्याम परियारका अनुसार भारतीय पर्यटकले धार्मिक यात्रामा टिम्स कार्ड लिन नपर्ने भन्दै अटेर गर्ने गरेका छन् । पर्यटकलाई टिम्स कार्ड नचाहिने हल्ला चलाउने र जबरजस्ती गर्ने राजनीतिज्ञ, कतिपय ट्रेकिङ एजेन्सीदेखि प्रशासकसम्म छन् । केही समयअगाडि मुस्ताङका तत्कालीन सांसद रोमी गौचन थकालीले समेत प्रावधानविपरीत काम गर्न खोजेका थिए । ‘तीर्थयात्रुलाई केको टिम्स, मलाई चिनेको छ रु’ भन्दै थकालीले एक हजारजना भारतीय पर्यटकलाई पास गराउन खोजेका थिए । त्यस मध्ये ५ सयजनाको टिम्स काट्न सफल भएको उनले बताए ।

किन पर्छ तथ्यांकमा फरक
सन २०१७ लाई आधार मान्दा एक्यापले पर्यटन बोर्ड पोखरालाई बुझाएको विवरणअनुसार १ लाख २५ हजार ३ सय ७३ जनाले अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश गरेका छन् । जब यही अवधिमा पोखराबाट टिम्स कार्ड लिनेहरूको संख्या जम्माजम्मी ६४ हजार १ सय ५ रहेको छ । यसमा ग्रुपका लागि टानले दिने र व्यक्तिका लागि पर्यटन बोर्डले कार्ड उपलब्ध गराउँछ । छुटेकालाई व्यक्तिगत पनि टिम्स चेकिङ काउन्टरबाट उपलब्ध गराइन्छ । काठमाडौंबाट समेत टिम्स लिने हुँदा यसमा केही बढी हुन सक्छन् । यसैलाई आधार मान्दा पनि टिम्स छली हुने प्रस्ट भएको पर्यटन बोर्ड पोखराका प्रमुख थपलियाले बताए ।

यस कारण छलिन्छ टिम्स
अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप प्रवेशाज्ञा पोखरा, लमजुङ र काठमाडौंबाट लिँदा २ हजार २ सय ६० रुपैयाँ तिरे पुग्छ । पर्यटकले प्रवेशाज्ञा नलिई गएको पाइएमा त्यसको दोब्बर रकम तिर्नुपर्छ । यस्तो प्रावधान टिम्सका लागि छैन । टिम्स कार्ड जहाँबाट लिए पनि २ हजार तिरे पुग्छ । थप जरिवाना तिर्न नपर्ने हुँदा समातिए तिरौँला भन्ने भावना गाइड, कतिपय पर्यटक र ट्रेकिङ एजेन्सीमा परेको स्रोतको भनाई छ । टिम्स चेकपोस्ट पर्याप्त छैनन् । म्याग्दीको तातोपानी कटेपछि माथि टिम्स चेकजाँच हुँदैन । यसका साथै टिम्स कार्ड जारी गर्ने र अनुगमन गर्ने दुबै काम टानले गर्छ । टुरिजम बोर्डसँग किनेर बेच्ने हुँदा यत्तिकै पठाउँदा फाइदा हुने भएकाले समेत टानकै पदाधिकारीको मिलेमतोमा टिम्स छली हुने गरेको आशंका छ । टिम्स तातोपानी चेकपोस्टका कर्मचारी प्रेमकुमारी भण्डारीका अनुसार कतिपय गाडीलाई टानका पदाधिकारीले छोड्ने आदेश दिने गरेका छन् ।

व्यवस्थित गर्न कठिन ः टान पोखरा
टान पोखराका अध्यक्ष दीपकराज अधिकारीले राज्यले आफैँ गर्नुपर्ने काम टानले गरेको बताए । सबै ट्रेकिङ एजेन्सीहरू आफूहरूसँग आबद्ध नरहेको र राजधानीका एजेन्सीहरूले बढी मात्रामा टिम्स कार्डमा अनियमितता गरेको पाइएको उनको भनाइ छ । त्यसैगरी, टानमा दर्ता नभएका, कतिपय गाइडसँगको कन्ट्र्याकका आधारमा पर्यटक जाने गरेका छन् ।

उनीहरूले एक्याप प्रमिट लिने, तर टिम्समा भरिएको विवरणमा टिपेक्स लगाउने र लेख्नेलगायतका गलत काम गर्छन् । सकेसम्म यसलाई नियन्त्रणमा लिने प्रयास भएको अधिकारीले बताए । नेपाल पर्यटन बोर्ड र टानका बीचमा समेत केही असहमझदारी हुँदा समस्या भएको उनले संकेत गरे । उनले राम्रो गर्दा पनि दोष आफूहरूले खेप्नुपरेको गुनासो गरे ।

राजस्व छली दण्डनीय ः पर्यटन बोर्ड पोखरा
पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले अनुगमनका क्रममा व्यापक मात्रामा टिम्स छली भएको पाइएको बताए । ‘टिम्स छल्नु राज्यको राजस्व छल्नु हो,’ उनले भने, ‘यो अक्षम्य अपराध हो, टानसँग बसेर एउटा निष्कर्षमा पुग्नुपर्छ ।’ उनले टिम्स चेकजाँचलाई पर्यटन बोर्ड र टान मिलेर व्यवस्थित गराउने बताए । –नयाँ पत्रिकाबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*