प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना   •   पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?   •   एनएमबीमा ओम विकास बैंक गाभियो   •   मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा   •   नेकपा जनवर्गीय संगठनको भागबण्डा: कुन संगठनको नेतृत्व कसले पाए ?   •   एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने

भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य ‘अभियान सफल बनाउन युनिक मार्केटिङ गर्नुपर्छ’

45269

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा नियुक्त सुरज वैद्य सार्क उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष हुन् । २०१९ सालमा काठमाडौंमा जन्मिएका वैद्यले दार्जिलिङमा विद्यालय तहको पढाइ र जर्ज मेसन विश्वविद्यालय, अमेरिकाबाट एमबीए पास गरेका छन् । सन् १९८४ बाट व्यावसायिक करिअर थालेका उद्योगी वैद्य नेपाल उद्योग वाणिज्य महासङ्घमा २५ वर्षदेखि सङ्गठित छन् । सार्क चेम्बर टुरिजम काउन्सिल कमिटीका पूर्वसभापतिसमेत रहेका उनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष हुन् । वैद्य परिवारले नै ५५ वर्षअघि नेपालमा पहिलो पटक टोयोटा गाडी भित्र्याएको थियो । वैद्य अर्गनाइजेसन टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो । अटोमोबाइलका अतिरिक्त चिया बगान, पर्यटन, निर्माण, शिक्षालगायत क्षेत्रमा लगानी गरेका वैद्य अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने नेपाली व्यवसायीका रुपमा परिचित छन् । उनै वैद्यसँग भ्रमण वर्षलाई सफल बनाउने रणनीति कस्तो छ भन्ने बिषयमा पत्रकार प्रकटकुमार शिशिर र सुवास योञ्जनले गरेको कुराकानी:

suraj-baidya-Banner-1सरकारले तपाईलाई हालै भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकका रुपमा नियुक्त गरेको छ । यसलाई तपार्इंले कसरी लिनुभएको छ ?

मेरा लागि यो चुनौतीको विषय हो । पर्यटन क्षेत्रभन्दा बाहिरको मान्छे भएकाले मेरा लागि यो पद चुनौतीपूर्ण पनि बनेको छ । पर्यटनमन्त्रीज्यूले चुनौतीलाई पार गर्दै मलाई जिम्मेवारी दिनुभएको छ । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु । र, मैले देशका लागि केही योगदान गर्न सक्छु भन्ने देखेर नै सरकारले ठूलो जिम्मेवारी दिएको छ । म त्यो पूरा गरेरै देखाउँछु ।

भ्रमण वर्ष २०२० घोषणा गरेको करिब ६ महिनापछि राष्ट्रिय संयोजक तोकिएको छ । समय पनि छोटो छ । संयोजक तोक्न पनि ढिला भएको सरकारी निर्णय र अरु काम गर्ने शैलीमा तपार्इं निजीक्षेत्रका विभिन्न नेतृत्वमा बसेको मान्छेले सही समयमा सही काम गर्न सक्छु जस्तो लागेको छ ?

हामी नेपाली हौं । नेपालमा बसेर नेपालको काम गर्ने तरिका हामी सबैले बुझेका छौं । कमीकमजोरी धेरैका छन् । राष्ट्रिय संयोजक चुन्न के कारणले ढिला भयो, त्यो सरकारको विषय हो । तर धेरै निजीक्षेत्रका साथीहरुको अन्योलताका कारण ढिलाइ भएको हुन सक्छ । नेपालमा सबैलाई पद चाहिन्छ । तर उनीहरुले काम कहिल्यै गर्दैनन् । त्यही भएर सरकारले संयोजक चुन्न ढिला भएको हो । भ्रमण वर्ष २०२० आउन यति छोटो समय छ कि चानचुने रुपले जिम्मेवारी लिन सक्ने अवस्थै छैन । मैले त्यो सबै जोखिम मोलेर जिम्मेवारी लिएको हुँ । छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था छ ।निजीक्षेत्रको भूमिका भनेको हामीले सक्ने काम ठीक समयमै गर्ने र सरकारले त्यसलाई सहयोग गर्दै लैजानु आवश्यक छ । यो कार्यक्रम बजेटमै समावेश भएको हुनाले विशेष प्राथमिकताको कार्यक्रम हो । भिजिट नेपाल २०२० लाई सरकारले अर्कै दृष्टिकोणले हेरेको छ भन्ने आशा लिएको छु ।

पर्यटन क्षेत्रभन्दा बाहिरकालाई संयोजक बनाएको विषयमा केही पर्यटन व्यवसायीले विरोध गरेको सुनिन्छ, उनीहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

मलाई लाग्छ, पर्यटन भनेको आम जनतालाई छुने विषय हो, पर्यटन व्यवसायीलाई मात्र होइन । भ्रमण वर्ष पर्यटन व्यवसायीको मात्र हो भन्ने भ्रम छ । त्यस्तो भ्रम त्यागेर यो समग्र नेपालीको हो र यसमा हामी सबैको दायित्व छ भन्ने भावना हुर्नुपर्छ । पर्यटन र कृषिले नेपाललाई छुन्छ । त्यसैले सबैलाई समेटेर लैजान सहज छैन । तर पर्यटन व्यवसायीमा संलग्न साथीहरुको सुझाव लिएर पर्यटन क्षेत्रको विकासका लागि केके गर्न सकिन्छ र कस्ताकस्ता समस्या छन् भन्ने जानकारी लिएर उहाँहरु सबैको सहकार्यमा मेरो कामलाई अगाडि बढाउँछु । छोटो समयमा ठूलो जिम्मेवारी लिनुपरेका कारण केही चुनौती पक्कै छन् । नेपालमा धार्मिक पर्यटक फस्टाउने सम्भावना धेरै छ ।

त्यसैले त्यस क्षेत्रका साथीलाई समेट्न आवश्यक छ । खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सहयोग पुग्छ । त्यसैले फुटबल, क्रिकेटका साथीहरुलाई पनि सहभागी गराउँछु । यसमा ८० प्रतिशत पर्यटनका साथी र २० प्रतिशत बाहिरका साथीहरुलाई समेटेर लैजानेछु । विभिन्न क्षेत्रको ब्रान्डिङको पनि आवश्यकता छ । जस्तो होटल, पर्यटकीय स्थल र ट्रेकिङ रुटको ब्रान्डिङ गरी प्रचारप्रसार गर्नु आवश्यक छ । अहिले सामान्य विरोध हुनु स्वाभाविक पनि हो । म काम गरेर देखाउँछु । त्यसको लाभ सबैलाई हुन्छ ।

२०७२ को भूकम्पले नेपालका धेरै सांस्कृतिक सम्पदा ध्वस्त भएर पुनर्निर्माणको चरणमा छन् । लोन्ली प्लानेटले विश्वका १० घुम्ने गन्तव्यभित्र पाँचौंमा काठमाडौंलाई घोषणा गरे पनि यहाँ घुम्न आउनेहरुलाई विशेष के देखाउने भन्ने यकिन नै छैन, यस्तो अवस्थामा पर्यटन क्षेत्रबारे कस्तो सन्देश जाला ?

सरकारले घोषणा गरिसक्यो, घोषणा गरेका आधारमा अघि बढ्नुबाहेक अरु कुनै विकल्प छैन । समस्या धेरै छन्, तिनलाई कसरी समाधान गर्ने भन्नेबारे पनि हामीले सोच्नुपर्छ । भूकम्पले क्षतिग्रस्त संरचना निर्माणलाई थप सहयोग पुर्याउनकै लागि यो भ्रमण वर्षले सहयोग पुर्याउन सक्छ कि ? या हाम्रा भत्किएका सम्पदा बनिरहेको छ, त्यसैलाई पो देखाउने हो कि ? समस्या धेरै छन्, ती समस्याहरुलाई ब्रान्डिङ गर्न सक्यो भने त्यही आकर्षक बन्न सक्छ । त्यसतर्फ ध्यान दिनु आवश्यक छ । मेरो ध्यान त्यसैतर्फ बढी हुन्छ । यो नकारात्मक विषयलाई सकारात्मकतातर्फ कसरी उन्मुख गराउने भन्नेमा पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

यस क्षेत्रको सुधारकै पक्षमा पनि लाग्नु पनि पर्छ होला नि ?

नेपालको पर्यटन क्षेत्रको सुधार गर्न केही समय लाग्छ । अहिले देशमा तीन तहको सरकार छ । पर्यटनको सन्दर्भमा त झन् तीन सरकारले धेरै नै समस्या पारिदिएका छन् । सङ्घीय सरकारले के गर्ने, प्रदेश सरकारले के गर्ने र स्थानीय सरकारले के गर्ने भन्ने स्पष्ट कानुन बन्न सकेको छैन । अहिले हरेक प्रदेशमा पर्यटन क्षेत्रका लागि बजेट विनियोजन भएका छन् । हरेक प्रदेशमा पर्यटनमन्त्री छन् । उनीहरुको भूमिका के हो र केन्द्रीय सरकारको भूमिका के हो भन्ने विषय अन्योलमा छ । त्यसैले हामी यो विवादमा नपरी भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यानलाई केन्द्रित गर्नेछौं ।

सन् २०१९ सुरु हुनै लाग्यो । २०१९ मै प्राथमिकतामा राखेर गर्नुपर्ने कामको योजना बनाउनुभएको होला नि ?

भ्रमण वर्ष २०२० भनिए पनि २०१९ लाई पर्यटन क्षेत्रको लगानी वर्षका रुपमा मनाउँछौं, जसले गर्दा सात प्रदेशमा रहेका सम्भावनाको खोजी गरी नमुना परियोजनाका रुपमा अघि सार्नेछौं । ती परियोजना बनाउन केन्द्र, प्रदेश र स्थानीय तहले कस्तो भूमिका निर्वाह गर्न सक्छन्, त्यस विषयमा छलफल गर्छौं । र, लगानीकर्तालाई लगानीका लागि आह्वान गर्छौं, जसले गर्दा पर्यटन क्षेत्रमा लगानी बढ्दै जान्छ । हेर्दा दुई वर्ष बाँकी रहे पनि यो समय निकै छोटो हो । त्यसैले हामी फास्ट ट्र्याकमा काम गर्दै छौं । सात प्रदेशमा लगानी लैजाने, लगानीकर्ता जुटाउने र पर्यटन क्षेत्रलाई नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १५ देखि २० प्रतिशत ओगट्न सक्ने क्षमताको बनाउने मुख्य उद्देश्य छ । हामीले सात प्रदेशका सातै प्रोजेक्टको अध्ययन गर्छौं ।

हाम्रो अध्ययनलाई स्थानीय, प्रदेश वा केन्द्र सरकारले पर्यटन क्षेत्रको पूर्वधार निर्माणका लागि जग्गा उपलब्ध गराओस् । पर्यटकका हिसाबमा हामीले जोखिम मोल्नु आवश्यक छ । हामीले बनाउने संरचना ५० वर्षपछि सरकारलाई नै फिर्ता दिने हो । त्यसमा सरकारले सहयोग गर्न आवश्यक छ । लगानी हामी जुटाउन तयार छौं । मलाई २०२० मा सफल हुन समस्या होला । तर पर्यटन भनेको २०२० मा मात्र हुँदैन, यो त निरन्तर चलिरहन्छ । त्यसैले मैले यो सुरुवात गर्ने हो । भोलिका दिनमा सरकारले त्यसलाई निरन्तरता दिँदै लैजाओस् ।

२०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएको छ । सरकारले १९९८ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपनि ४ लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पर्यटकको लक्ष्य राखेकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटक मात्र नेपाल भित्रिए । तपाईंको विचारमा २० लाख पर्यटक नेपालमा भित्र्याउन सम्भव छ वा योभन्दा धेरै आउँछन् ?

२०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना सहज छैन । किनकि अहिले हामीसँग एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसलाई चौबीसै घण्टा सञ्चालन गर्दा पनि पर्यटकको आगमन थेग्न सक्दैनौं । जति अन्तर्राष्ट्रिय उडान नेपालमा हुन्छन्, त्यति नै नेपालभित्र पनि आन्तरिक उडान हुन्छ । यो विमानस्थलले सोचे जस्तो हवाई यात्रुलाई सेवा दिन सक्दैन । त्यसैले सडकमार्गलाई मजबुत बनाउनु आवश्यक छ । त्यसका लागि भारत र चीनका पर्यटकलाई सडकमार्गबाट ल्याउन सजिलो हुन्छ । यस विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।
हामी फास्ट ट्र्याकमा काम गर्दै छौं । सात प्रदेशमा लगानी लैजाने, लगानीकर्ता जुटाउने र पर्यटन क्षेत्रलाई नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १५ देखि २० प्रतिशत ओगट्न सक्ने क्षमताको बनाउने मुख्य उद्देश्य छ ।

हुन त केही समयपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारीमा आएको छ । यदि सो विमानस्थल सञ्चालनमा आयो भने पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्छ । विमानस्थल सञ्चालनमा आउनु भनेको अन्तर्राष्ट्रिय प्रवेशमार्ग सञ्चालनमा आउनु जस्तै हो । त्यसैले २० लाख होइन, त्योभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ । तर अहिलेको सन्दर्भमा सडकमार्गबाट आउने पर्यटकलाई नै बढी प्राथमिकता दिनु आवश्यक छ । धार्मिक पर्यटकलाई नेपाल भित्र्याउन हाम्रो प्रयास रहनेछ । विभिन्न चाहना भएका साथी पर्यटन क्षेत्रमा रहेका कारण उनीहरु सबैका आआफ्नै चाहना हुन्छन् । तर मेरो विचारमा नेपाल आउने सबै किसिमका मानिस पर्यटक हुन्, चाहे ऊ जहाजमा आओस् या गाडीमा अथवा हिँडेर नै किन नहोस् ।

केही सकारात्मक विषय पनि छन् । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार होटलमा २५ लाख कोठा छन् । १० ओटा पाँचतारे होटल थपिँदै छन् । नयाँ गन्तव्य थपिएका छन् । एयरपोर्ट बन्दै छ । यस्तो अवस्थामा नेपालको पर्यटन क्षेत्र बुम हुने अवस्थामा पुगेको छ । यी सबै हेर्दा समन्वय अभाव मात्र कम देखिन्छ । सरकार र निजीक्षेत्रसँग कसरी समन्वय गरेर अघि बढ्नुहुन्छ ?

म निजीक्षेत्रको मान्छे हुँ । तर पर्यटन व्यवसायी होइन । निजीक्षेत्रको भए पनि म राजनीतिक दलको मान्छे होइन । त्यसैले मलाई केही सहज हुन्छ । म पर्यटन व्यवसायी भएको भए, पक्कै मेरो क्षेत्र कुन हो, त्यसलाई मात्र बढी फोकस गर्थें होला । त्यस्तो बेलामा सरकारसँग विभिन्न प्रस्ताव राख्न समस्या हुन्थ्यो— कतै मैले राखेको प्रस्तावमा केही स्वार्थ छ कि भन्ने । मलाई लाग्छ, सरकारले त्यही सोचेर नै मलाई नियुक्त गरेको हुन सक्छ । मलाई केही स्वार्थ छैन । यसले सरकार र निजीक्षेत्रबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास छ ।

अन्तर्राष्ट्रिय रुपमा तपाईंको सम्बन्ध पनि राम्रो छ । तपाईं सार्क चेम्बर अफ कमर्सदेखि टुरिजम काउन्सिलरमा पनि हुनुहुन्छ । धेरै देशसँग नेटवर्क छ । यो प्लेटफर्मलाई तपाईं कसरी प्रयोग गर्नुहुन्छ । योजना के छ ?

२० लाख पर्यटक भित्र्याउन हाम्रो मेन फोकस चीन र भारतमै हुनु आवश्यक छ । मेरो अनुभव र सम्बन्धका कारण ती देशमा विभिन्न कार्यक्रम परिचालन गर्न सहज हुन्छ । त्यहाँका उद्यमी र सरकारसँग मेरो राम्रो सम्बन्ध छ । त्यसकारण मैले सहजै नेपालको विषयमा भन्न सक्छु । र उनीहरुलाई थाहा छ, मैले सुरु गरेको अभियान सकरात्मक हो । यसमा सहयोग गर्नुपर्छ भन्ने भावना उनीहरुसँग छ । केही दिनअघि मात्र भारतीय राजदूत मञ्जीव सिंह पुरीसँग भेट भएको थियो । भेटमा उहाँले मलाई भन्नुभएको छ— २० लाख पर्यटक भित्र्याउन कुनै तनाव लिनु आवश्यक छैन । चीनमा पनि मेरा धेरै साथी छन् । उनीहरुको सहयोगमा प्रचारप्रसार गरी चिनियाँ पर्यटक सहजै भित्र्याउन सकिन्छ ।

नेपालसँग नाका जोडिएका चीन र भारतका सडकको अवस्था राम्रो छैन । यस्तो अवस्थामा कसरी पर्यटक आउलान् ?

केही समयभित्रै चिनियाँ पर्यटनमन्त्री नेपाल आउने भन्ने सुनेको छु । त्यतिखेर सायद भ्रमण वर्षका विषयमा पनि छलफल हुन्छ होला । उहाँसँग चिनियाँ नाका सञ्चालनका लागि नेपालले प्रस्ताव अघि सार्छ भन्ने विश्वास लिएको छु । जबसम्म नेपालका सबै मन्त्रालय र निकायलाई पर्यटन क्षेत्र हाम्रो पनि हो भन्ने भावना जागृत हुँदैन, तबसम्म तत्काल सुधार हुने सम्भावना छैन । पछिल्लो समय अन्तरमन्त्रालय समन्वय अभावका कारण समस्या देखिएको हो । त्यसैले सरकारले यस विषयमा पनि केही छलफल गर्छ भन्ने आशा लिएको छु ।

भ्रमण वर्षको प्रमोसनका लागि पर्याप्त बजेट छैन । अन्तर्राष्ट्रिय मार्केटमा प्रचार नहुँदा कस्तो समस्या होला ? र प्रमोसनको पाटोमा के देख्नुहुन्छ ?

अब हामी ट्रेडिसनल मार्केटिङबाट मुक्त हुनु आवश्यक छ । सोसल मिडिया अहिले धेरै पावरफुल छ । त्यसलाई कसरी प्रयोगमा ल्याउन सक्छौं भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौं । प्रिन्ट मिडियालाई पनि साथमै राखेर सोसल मिडियालाई बढी मात्रामा प्रयोग गर्ने हाम्रो तयारी हो । नेपालमा रहेका सोसल संस्थाहरुलाई सक्रिय बनाउने मेरो अभियान हो । ती संस्थामार्फत प्रचारप्रसारलाई तीव्रता दिने हो । सम्भव भएसम्म २०१९ भित्रै भारत र पाकिस्तानबीचको क्रिकेट खेल काडमाडौंमा गर्ने सोचमा अघि बढेको छु । त्यो सफल भए २०२० मा बृहत् खालको क्रिकेट खेल गराउने योजना छ । मार्केटिङ गर्दा केही युनिक हुनुपर्छ । हामीले काम गर्दा समाचारसँगै प्रचार हुने खालको गर्ने हो, जसले गर्दा विश्वको ध्यान नेपालमा जाओस् ।

नेपाल आउने पर्यटकले धेरै समस्या भोग्दै आएका छन् । सामान्य रुपमा हेर्दा पनि पर्यटकीय क्षेत्रमा भारतीय माग्नेहरुका कारण पर्यटकले समस्या भोगेका छन् भने विदेशबाट सिनेमा सुटिङ गर्न आउनेलाई पनि ड्रोन उडाउन झन्झट छ । ट्रेकिङ रूटमा परमिट शुल्क बढेको छ । यस्ता समस्या समाधानका लागि तपाईंको भूमिका कस्तो रहन्छ ?

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रीज्यू निकै सक्रिय हुनुहुन्छ । मन्त्रीज्यूले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्बाटै निर्णय गरेर विशेष कमिटी बनाउन आवश्यक छ, जुन कमिटीले हरेक समस्या समाधानदेखि निर्णय लिन सक्नेसमेत अधिकार पाओस् । यस्तो समिति भएन र त्यसको निर्णय छिटो गर्न नसके फेरि हामी पछि पर्छौं । र सातै प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्रीसँग बसेर यस विषयमा छलफल र समन्वयलाई पनि अघि बढाउनेछौं । पर्यटन क्षेत्रले नेपालको जीडीपीमा ठूलो योगदान पुर्याउन सक्छ । अहिलेका युवा रचनात्मक छन् । उनीहरुलाई पर्यटन क्षेत्रमा संलग्न गराउन सकेनाैं भने यस क्षेत्रको विकास सम्भव छैन ।

क्यापिटल नेपालबाट साभार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*