भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

नयाँ वर्षः पर्यटकीय गन्तव्य भरिभराउ

46681
  • सिवा अधिकारी/ रासस

touristकाठमाडौं । नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ ।

पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य सं‌ख्यामा आन्तरिक पर्यटक देशका विभिन्न गन्तव्यमा पुगेका छन् ।

वसन्त ऋतुको यो सिजन खासगरी पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिन्छ । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन यतिबेला उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आएका छन् । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन पनि बढेको छ ।

राजधानी नजिकका नगरकोट धुलिखेल, चन्द्रागिरीलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बाक्लिएका छन् । राजधानी बाहिरका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, पवित्र धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथिभरा, धनकुटाको भेडेटार दोलखाको कालीञ्चोक, मनाङको मुक्तिनाथलगायत क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड बढेको छ । मुगुको रारा, सुदूरपश्चिमको खप्तड आदि क्षेत्रमा पर्यटक उल्लेख्य संख्यामा गएका छन् ।

ती गन्तव्यका होटल तथा रेस्टुराँ पाहुनाले भरिएका छन् । खासगरी राजधानी नजिकका पोखरा र चितवनका होटल पर्यटकले खचाखच भरिएका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा फेवा महोत्सव चलिरहेको छ । पोखरामा अहिले आन्तरिक पर्यटकको भीड लागेको छ । पोखराका होटल व्यवसायी भरत पराजुलीले पर्यटनको मुख्य सिजन, नयाँ वर्षको सन्दर्भ तथा बिदा मनाउन आउने आन्तरिक पर्यटकको चाप बढेको बताए ।

होटल पिस प्लाजाका सञ्चालक पराजुलीले यो सिजनमा ८० देखि ९० को हाराहारीमा पोखराका होटल भरिभराउ छन् । क्षेत्रीय होटल सङ्घ पोखराका अनुसार स्वदेशी तथा विदेशी गरी वार्षिक १० लाख पर्यटक पोखरा पुग्ने गरेका छन् । गण्डकी प्रदेशले ‘आन्तरिक भ्रमण वर्ष- २०१९’ को घोषणा गरी वार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

यो लक्ष्य भेटन गाह्रो नहुने व्यवसायी बताउँछन् । यता अर्को प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहासँगै पटिहानी, जगतपुर र मेघौलिका होटल पनि आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् ।

सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए । चरिकोट (दोलखा) को कुरीस्थित होटल सुनापतिका सञ्चालक हरि ओलीका अनुसार कालीञ्चोक भ्रमण जाने पर्यटकको घुइँचो लागेको छ । अहिले दैनिक दुई हजार भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यो क्षेत्रमा ४५ वटा होटल छन् ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार अहिले ७० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । हानका महासचिव विनायक शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप बढ्दो छ । हानको विवरणमा मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् ।

पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यो सिजनमा शुक्रबारसम्म सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहणका लागि ७५ आरोहण समूहका ६६७ आरोही गन्तव्यतिर लागेका छन् ।

पर्यटकीय मौसम शुरु भएसँगै धेरै आरोहीको चहलपहल बढेको ट्रेकिङ् एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले बताए । पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव कुलबहादुर गुरुङले अनुकूल मौसम भएकाले वसन्त ऋतुमा साहसिक पर्यटकीय गतिविधि बढ्ने बताउछन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको बताए ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव भवि शर्माले मुख्य पर्यटकीय सिजन शुरु भएसँगै ठमेल, वसन्तपुर, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल पनि बाक्लिएको बताए । नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन् ।

अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बु, लाङ्टाङ र मनास्लु क्षेत्रमा धेरै सङ्ख्यामा पर्यटक जान्छन् । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुअरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोका लागि बजेट तथा कार्यक्रम तय गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*