नेकपाले टुंग्यायो जिल्ला र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तथा   •   बाढीपहिरो अपडेट: मृत्यु हुने ६० पुगे, २६ बेपत्ता र ३८ घाइते   •   वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो   •   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समयावधि थप   •   प्रदेश १ को निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार   •   विपदमा उद्धार र राहतसम्बन्धी सरकारले गर्‍यो यस्तो निर्णय

भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड

47548

natoj 1काठमाडौँ – सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् । भ्रमण वर्षबारे विभिन्न टिक्का टिप्पणी भइरहेको बेला सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन प्रवद्र्धनको उपयुक्त अवसर रहेकाले यसलाई सफल पार्न एक कदम अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

सोमबार प्कनाजोल, ठमेलस्थित काठमाडौं गार्डेन होममा सम्पन्न राष्ट्रिय पर्यटन पत्रकार सङघ (नाटोज)को छैटौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भ्रमण वर्षलाई अवसरका रुपमा लिएर प्रवद्र्धनको अभियानलाई प्रभावकारी बनाउन सबैको सक्रियता चाहिने बताउनुभयो ।

संरक्षण क्षेत्रमा जाने पर्यटकको आकर्षण बढ्दै गएको तथा नेपाल घुम्न आउने पर्यटकमध्ये करीब ६० प्रतिशतले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा भ्रमण गर्ने गरेको मन्त्री बस्नेतले तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

प्रवेशका लागि दोहोरो शुल्क लिने गरेको व्यवसायीको गुनासोको जवाफ दिँदै मन्त्री बस्नेतले संरक्षित क्षेत्रको संरक्षण, वातावरण सहज र पर्यटनमैत्री बनाउनका लागि व्यवस्थित गर्ने काम भएकाले अन्तरमन्त्रालय छलफल गरी शुल्कमा एकरुपता ल्याइने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन, व्यावसायिकीकरण तथा सेवा स्तरीकरणका लागि सम्बन्धित निकायको सहयोग र समन्वयको खाँचो औँल्याउनुभयो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भ्रमण वर्षलाई ध्यानमा राखेर पर्यटकीय पूर्वाधार विकास, गुणस्तरीय सेवा तथा नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका कामलाई प्राथमिकता दिइएको बताउनुभयो । भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । भ्रमण वर्षको प्रवद्र्धनको समयावधि थोरै रहेकाले विवाद र उल्झनबाट टाढिएर प्रवद्र्धनका कार्मलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने व्यवसायीको माग छ ।

भ्रमण वर्ष सन् २०११ का राष्ट्रिय कार्यक्रम संयोजकसमेत रहिसक्नुभएका वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले तत्कालीन भ्रमण वर्ष अभियानका चुनौती र सम्भावनाको अनुभव सुनाउनुभयो । “अघिल्ला दुई भ्रमण वर्ष सन् १९९८ ‘भिजिट नेपाल’ मनाउँदा पर्यटन क्षेत्रमा सबै क्षेत्रले गाली मात्रै गर्ने र सन् २०११ को नेपाल भ्रमण वर्ष मनाउँदा विभिन्न पक्षको त्रास बेहोर्नुपर्ने अवस्था थियो । अहिले स्थिर सरकार छ । पर्यटकीय पूर्वाधार धमाधम बन्दैछ, त्यसैले चुनौती हैन भ्रमण वर्षका लागि उपयुक्त अवसर छ । यसलाई साझा अभियानका रुपमा अघि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्ष मनाएर उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आकर्षित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँले भ्रमण वर्ष अभियानअन्तर्गत पर्यटन लगानी सम्मेलन, भारत र चीनमा नेपाल प्रवद्र्धनलगायत कार्यक्रम गरिने उल्लेख गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष नवराज दाहालले स्थिर सरकार गठन भएको र पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाइरहेको सन्दर्भमा भ्रमण वर्ष घोषणा आफँैमा अवसर भएको बताउनुभयो ।

पर्यटन व्यवसायी कमल सापकोटाले भ्रमण वर्षलाई सार्थक बनाउन नयाँ गन्तव्य प्रवद्र्धन र गाउँसम्म पर्यटन विस्तारका कार्यक्रम चलाइनुपर्ने खाँचो औँल्याउनुभयो । नाटोजका अध्यक्ष शिव अधिकारीले भ्रमण वर्षलाई राष्ट्रिय पर्वकै रुपमा अघि बढाउन सबै क्षेत्रको सक्रियता चाहिने बताउनुभयो । सो अवसरमा सगरमाथा आरोही कल्पना महर्जन तथा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यवसायीलाई सम्मान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*